मङ्गलबार प्रकाशित पछिल्लो जनगणनाको विवरणअनुसार स्कटल्यान्डमा अधिकांश मानिसले उनीहरूको कुनै धर्म नभएको बताएका छन् । यो बेलायतको कुनै पनि मुलुकका लागि पहिलो हो ।
सन् २०२२ को जनगणनामा आधाभन्दा धेरै (५१ दशमलव एक प्रतिशत) उत्तरदाताले उनीहरूको ‘कुनै धर्म नभएको’ जवाफ दिएको स्कटल्यान्डको नेसनल रेकर्ड्सले बताएको छ । सन् २०११ को जनगणनामा यस्तो उत्तर दिने ३६ दशमलव सात प्रतिशत थिए ।
इङ्गल्यान्ड र वेल्समा ‘कुनै धर्म छैन’ भन्ने दोस्रो सबैभन्दा सामान्य प्रतिक्रिया थियो । यो सन् २०११ को जनगणनामा चारमध्ये एक (२५ दशमलव दुई प्रतिशत) बाट बढेर सन् २०२१ मा एक तिहाई (३७ दशमलव दुई प्रतिशत) भन्दा अधिक भएको छ ।
उत्तरी आयरल्यान्डमा प्रतिक्रियामा थोरै वृद्धि देखिएको छ । यहाँ सन् २०११ मा १० दशमलव एक प्रतिशतबाट १० वर्षपछि १७ दशमलव चार प्रतिशत भएको छ । उक्त समयमा कोभिड प्रतिबन्धका कारण सन् २०२१ को संयुक्त अधिराज्यको जनगणनाका लागि स्कटल्यान्डमा तथ्याङ्क सङ्कलन एक वर्ष ढिलो भएको थियो ।
पछिल्लो तथ्याङ्कले स्कटल्यान्ड र फराकिलो संयुक्त अधिराज्य दुवैमा एकपटक प्रभुत्व जमाएका ईसाई सम्प्रदायहरूबीच बढ्दो धर्मनिरपेक्षता र घट्दो चर्चको उपस्थितिलाई प्रतिबिम्बित गर्दछ ।
स्कटल्यान्डमा पाँचमध्ये एक (२० दशमलव चार प्रतिशत) ले आफूलाई स्कटल्यान्डको प्रोटेस्टेन्ट चर्चको हिस्सा ठान्थे । यो एक दशकअघिको मात्र एक तिहाईभन्दा कम थियो ।
रोमन क्याथोलिकको सङ्ख्या १५ दशमलव नौ प्रतिशतबाट घटेर १३ दशमलव तीन प्रतिशत भएको छ । ‘अन्य ईसाई’ श्रेणीहरूमा पनि यस्तै प्रकारको गिरावट आएको छ ।
यसको विपरीत आफूलाई मुस्लिम मान्नेहरूको सङ्ख्या १० वर्षमा एक दशमलव ४५ प्रतिशतबाट बढेर दुई दशमलव दुई प्रतिशत भएको छ ।
बेलायतको पछिल्लो जनगणनाले पहिलो पटक इङ्गल्यान्ड र वेल्सका आधाभन्दा कम जनसङ्ख्याले आफूलाई ‘ईसाई’ भनी वर्णन गरेको बताएको छ ।
‘ईसाई’ अहिले पनि सबैभन्दा साझा प्रतिक्रिया थियो तर एक दशकमा यो ५९ दशमलव तीन प्रतिशतबाट घटेर ४६ दशमलव दुई प्रतिशत भएको छ । यो भनेको तीन करोड ३३ लाखबाट घटेर दुई करोड ७५ लाख हुनु हो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यस अवधिमा ‘मुस्लिम’ उत्तर दिने उत्तरदाताहरूको सङ्ख्या चार दशमलव नौ प्रतिशतले बढेर छ दशमलव पाँच प्रतिशत अर्थात २७ लाखबाट ३९ लाख भएको छ ।
सन् २०२१ मा उत्तरी आयरल्यान्डमा बस्ने क्याथोलिकहरूको सङ्ख्या पहिलो पटक प्रोटेस्टेन्ट र अन्य ईसाई सम्प्रदायहरूको कूल सङ्ख्याभन्दा धेरै भएको छ । ब्रिटिश–सञ्चालित प्रान्तलाई सन् १९२१ मा प्रोटेस्टेन्ट–बहुमत इन्क्लेभका रूपमा बनाइएको थियो ।