‘सेभिङ पार्ट्नर’: चिनियाँ महिलाको पैसा जोगाउने नयाँ काइदा



कोभिड महामारीका बेला क्याथी चूओ र उनका पतिको आधा तलब काटियो। उनका लागि यो कठिन थियो किनकि उनले पाँच वर्षअघि क्यान्सर भएको पुष्टि भएकी आमाको पनि हेरचाह गर्नुपर्थ्यो। ‘हरेक वर्ष हाम्रो पैसा विरलै बच्थ्यो। आफू असुरक्षित भएको महसुस हुन्थ्यो तर के गर्ने भन्ने थाहा थिएन,’ दुई सन्तानकी आमा भइसकेकी यी ३६ वर्षे महिला भन्छिन्।

दक्षिणी चीनको फूज्यान प्रान्तकी यी महिलाले परिवारमा आइपरेको आर्थिक सङ्कटका कारण अन्य चिनियाँ युवायुवतीले जस्तै अनलाइन माध्यममा आफूसँग मिल्ने रुचि भएका अन्य ‘पार्ट्नर’ वा ‘ता ची’ खोजिन्। सँगै घुम्ने वा शारीरिक अभ्यास गर्नेभन्दा पनि उनले पैसा जोगाउन चाहने मानिससँग साझेदारी गरिन्।


इन्स्टाग्र्यामजस्तै चिनियाँ एप ‘शाउहोङ्शु’मा सन् २०२३ को फेब्रुअरीमा पहिलो पटक ‘सेभिङ ता ची’ ह्याशट्याग प्रयोग भयो। ‘न्यूजर्‍याङ्क’ नामक डेटा विश्लेषण कम्पनीका अनुसार त्यसपछि यसले हालसम्म १७ लाख भ्यू पाइसकेको छ। ‘विबो’मा पनि ‘बचत साझेदारी’ भनिएका शीर्षकहरूले लाखौँ भ्यू पाएका छन्।

सिङ्गापुरको न्याश्नल यूनिभर्सिटीमा सार्वजनिक नीतिका प्राध्यापक रहेका लू सीका अनुसार यो प्रवृत्तिले ‘भविष्यको अर्थतन्त्रबारे न्यून आत्मविश्वास; देखाउँछ। चीनको अर्थतन्त्र सोचेभन्दा तीव्र गतिमा विकसित भए पनि यसका अगाडि घट्दो विदेशी लगानी र स्थानीय सरकारको बढ्दो ऋणलगायत विभिन्न सङ्कट रहेको विशेषज्ञहरू बताउँछन्।

सम्भाव्य खतराका लागि तयारी

आफू स्वच्छ ऊर्जाको क्षेत्रमा काम गर्ने हुनाले चूओ आफूलाई भाग्यमानी सम्झन्छिन् किनकि यो क्षेत्र निरन्तर फैलँदो छ। गत वर्ष चीनको आर्थिक वृद्धिदरमा यस क्षेत्रले ४० प्रतिशत योगदान दिएको मानिएको छ। तर आफ्ना धेरै साथी र आफन्तले जागिर गुमाइरहेकाले आफू ‘खतराप्रति तयार; रहन चाहेको उनी बताउँछिन्।

यस वर्षको फेब्रुअरीमा चूओले धेरै वटा अनलाइन बचत समूहहरूको सदस्यता लिइन्। त्यस्ता समूहमा प्रायः २० देखि ४० वर्षका महिलाहरू छन्। उनीहरू प्रत्येक दिनको बजेट र खर्चको अभिलेख राख्छन्। मनलाग्दी सामान किन्नबाट एकअर्कालाई रोक्न पनि उनीहरू सहयोग गर्छन्।

चूओको समूहका एक सदस्यले पाँच हजार युआन (झन्डै ९२ हजार नेपाली रुपैयाँ) पर्ने एउटा झोला किन्न चाहेकी थिइन्। तर समूहका अन्य महिलासँग कुरा गरेपछि उनी पहिले कसैले प्रयोग गरिसकेको सस्तो झोला किन्न सहमत भइन्।

अन्य धेरै महिलाले पनि यस्तै गरिरहेको थाहा पाउँदा उनी अचम्ममा परेकी छिन् तर उनले ‘सेभिङ पार्ट्नर’को साथको प्रभाव पनि महसुस गरेकी छन्। एक जनासँग साथी बनेको एक महिनामै आफ्नो खर्च ४० प्रतिशतले घटेको उनको दाबी छ। यस वर्ष उनी एक लाख युआन (झन्डै १८.५ लाख नेपाली रुपैयाँ) जोगाउन चाहन्छिन्।

बचतसँगै अतिरिक्त कमाइ

एउटा प्राथमिक विद्यालयकी ३० वर्षे शिक्षिका वेन चोङ पनि ‘सेभिङ पार्ट्नर’को सहयोगमा आफूले अनलाइन किनमेलमा कटौती गरेको बताउँछिन्। पहिला किनमेलमा खर्च गर्ने समय अहिले पढाइ र सिलाइबुनाइमा खर्च गरेको उनको भनाइ छ। आफूले बनाएका हस्तकलाका सामान उनले स्थानीय बजारमा बेच्न थालेकी छन्। यसले गर्दा अतिरिक्त कमाइ भएको छ।

अझ महत्त्वपूर्ण कुरा, ‘सेभिङ पार्ट्नर’सँग आबद्ध भएपछि आफूले जीवनशैलीलाई किफायती (‘मिनिमलिस्टिक’) बनाएको उनको दाबी छ। चीनको बचत दर संसारकै उच्चतममध्ये एक भइसकेको छ। आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ को अन्त्यसम्म चिनियाँ परिवारहरूले ब्याङ्कमा राखेको रकम अघिल्लो वर्षको भन्दा झन्डै १४ प्रतिशत बढी थियो। तर डा. लूका अनुसार अत्यधिक बचत पनि चिनियाँ सरकारका लागि समस्या बन्न सक्छ।

सामान्य अवस्थामा केन्द्रीय ब्याङ्कले ब्याजदर कम गरी बचतमा आकर्षण घटाएर अर्थतन्त्रलाई गति दिन सक्छ। तर मान्छेहरूले खर्च नगरीकन पैसा जोगाउन थाले भने अर्थतन्त्रलाई प्रभावित गर्ने केन्द्रीय ब्याङ्कको क्षमता कमजोर हुन सक्छ।

बैंकमा होइन, ‘ट्याङ्का’मा

उता केही महिलाहरूले भने परम्परागत रूपमा घरमै नगद राखेका छन्। ‘अलिपे’ र ‘वीच्याटपे’जस्ता एप धेरै प्रयोग हुने चीनमा अधिकांश क्षेत्र नगदमुक्त भइसक्दा पनि घरमै नगद राख्नु अनौठो मानिएको छ। चीनको मध्य भागमा अवस्थित हेनान प्रान्तमा ब्यूटी पार्लर चलाउने ३२ वर्षे चेन हरेक महिना आफूले कमाएको पैसामध्ये अधिकांश रकम बैंकबाट निकालेर घरमै एउटा बाकसमा राख्ने बताउँछिन्।

हामीसँगको कुराकानीमा आफ्नो वास्तविक नाम खोल्न नचाहेकी उनको भनाइमा उनी ५० हजार युआन (झन्डै नौ लाख २५ हजार नेपाली रुपैयाँ) नपुगुन्जेल पैसा बाकसमै राख्छिन्। त्यसपछि भने बैंकमा मुद्दती खाता खोल्ने उनको योजना छ। उनी भन्छिन्, ‘पहिला मेरो बचत गर्ने कुनै योजना थिएन तर पनि केही पैसा जोगिएकै थियो। अहिले पैसा जोगाउन चुनौती थपिएको छ।’

आर्थिक मन्दीले गर्दा उनको ब्यूटी पार्लरका ग्राहकको सङ्ख्या घटेको छ। नियमित आउनेहरू पनि कम खर्च गर्न थालेका छन्। अनि चेन र उनका पति दुवै एक्ला सन्तान हुन्, अर्थात् उनीहरूले पाका उमेरका आआफ्ना आमाबुवाको पनि हेरचाह गर्नुपर्नेछ।

यो दम्पतीका दुई छोरा छन्। त्यसैले चेनलाई आफ्ना सन्तानका लागि घर किन्नै पैसा नबच्ने हो कि भन्ने चिन्ता छ। चीनमा सामान्यतया छोराको बिहे हुने बेला आमाबुवाले घर किनिदिने चलन छ। उनको अनुमानमा उनले र उनका पतिले कम्तीमा ५० लाख युआन (झन्डै नौ करोड २५ लाख नेपाली रुपैयाँ) जोगाउनुपर्ने छ। तर उनी फेरि गर्भवती छिन् र यो रकम आफ्ना सन्तानका लागि पर्याप्त हुँदैन कि भन्ने उनलाई डर छ।

‘हातमा पैसा भयो भने मेरो तनाव कम हुन्छ,’ उनी भन्छिन्, ‘पैसाको चाङ झन् अग्लो, झन् अग्लो भएको देख्दा मलाई सुरक्षित र सन्तुष्ट महसुस हुन्छ।’

सिल्भिआ चाङ
बीबीसी