सिंहदरबारमा कांग्रेसको संसदीय दलको बैठक जारी



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ।  बैठक बानेश्वरस्थित संसद भवनमा जारी छ।  विपक्षी दलको बैठक सकिएलगत्तै दलको बैठक बसेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसको नाराबाजीबीच विश्वासको मत लिएपछि पार्टीले संसदमा प्रस्तुत हुने आगामी रणनीति तय गर्न बैठक बोलाएको सह-महामन्त्री एवं सांसद बद्री प्रसाद पाण्डेले जानकारी दिए। बैठक सकिएलगत्तै पत्रकार सम्मेलन गर्ने कांग्रेसको तयारी छ।


प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले १५७ मत पाएपछि सभामुख देवराज  घिमिरेले बहुमत प्राप्त  गरेको घोषणा गरेका थिए। प्रधानमन्त्रीले विश्वासको मत लिइरहँदा कांग्रेससहित विपक्षी दलहरूले नाराबाजी गरेका थिए।

विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीको मतको प्रक्रिया अघि बढ्नुलाई इतिहासमा गलत नजिर स्थापित भएको कांग्रेसको ठहर छ।  सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले संसदमा अवरोध जनाउँदै  आएको छ।

सत्ता पक्ष र प्रतिपक्षबीच संसदीय छानबिन समिति गठनमा सहमति भएपनि त्यसको कार्यादेशमा टुंगो लागेको छैन। कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म संसदमा अवरोध कायम राख्ने अडान लिएको छ।