काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी बचतकर्ताको रकम अपचलन, हिनामिना र ठगी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । उनले भने, ‘सहकारी ठगीमा मेरो संलग्नता छैन । मलाई कहीँ कतै अभियोग लगाइएको छैन । विगत १५ वर्षदेखि मैले भ्रष्टाचारका फेहरिस्त हेरेको छु ।’
प्रतिनिधि सभा बैठकमा आज बोल्दै गृहमन्त्री लामिछानेले सहकारी ठगी गर्नेलाई मात्र होइन कृषि अनुदान हिनामिना गरेर बाख्रा पाल्नेलाई लखेट्नुपर्ने बताएका छन् । ‘खसी, बोका, कुखुरा र हाँस बेच्ने नाम राज्य कोष दुरुपयोग गर्नेलाई पनि कारबाही गरौं । राहदानी दुरुपयोग गरेर जापान पठाउनेहरूलाई पनि कारबाही गरौं,’ उनले भने ।
यो उनको भनाई कांग्रेस महामन्त्री गगन थापा लक्षित देखिन्थ्यो । सरकार संसदीय छानबिन समिति बनाउन तयार भएपछि गृहमन्त्री लामिछानेले २ महिनापछि प्रतिनिधि सभा बैठकमा बोल्न पाएका हुन् ।