वाग्मती सफाइ महाअभियान ११ औँ वर्ष पूरा



काठमाडौँ । ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियानले  ११ औँ वर्ष पूरा गरेको छ ।

विसं २०७० जेठ ५ गते राजधानी काठमाडौँको सभ्यताको स्रोत वाग्मतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ सफाइ महाअभियान सुरु भएको थियो । पहिलो चरणमा पशुपति क्षेत्रसम्मको नदी सफा गर्ने लक्ष्य राखिएको थियो । ५० औँ हप्ताको कार्यक्रममा तत्कालीन राष्ट्रपति डा रामवरण यादवलगायत विशिष्ट व्यक्तित्वले गौरीघाटमा मुख धोएका थिए ।


सफाइ महाअभियानको नेतृत्व तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले गरेका थिए । हालसम्म पनि उनको नेतृत्व जारी छ । तत्कालीन सयमदेखि प्रत्येक हप्ता शनिबार बिहान गर्मीमा सात बजेदेखि नौ बजेसम्म र जाडोमा ७ः३० बजेदेखि ९ः३० बजेसम्म वाग्मती नदीका विभिन्न स्थानको किनारमा सफाइ हुने गरेको छ । महाअभियान शनिबारदेखि ५७५ औँ हप्तामा प्रवेश गर्दैछ ।

वाग्मतीबाट हालसम्म २० हजार मेट्रिक टनभन्दा बढी फोहर व्यवस्थापन भएको छ । महाअभियानमा १५ लाखभन्दा बढीले नदीमै गएर फोहर उठाएका छन् । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सरकारी एवं सामुदायिक संस्थाले पनि योगदान गरेका छन् । धेरै मानिसले महाअभियानलाई सहयोग गरे पनि उद्देश्य अनुसार उपलब्धि हुन नसकेको गुनासो सुनिने गरेको छ । 

महाअभियान १२ औँ वर्ष प्रवेश गरेकै बेला देशभरका ७५३ स्थानीय तहमा दोस्रो निर्वाचन सकिएको पनि दुई वर्ष पूरा भएको छ । महाअभियानका अभियानकर्मी डा.माला खरेल फोहर व्यवस्थापनमा स्थानीय सरकारको साथ अत्यावश्यक पर्ने बताउँछिन् ।

महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी, वाग्मतीकै पनि विभिन्न स्थानमा सफाइ अभियान चलिरहेको छ । काठमाडौँ उपत्यकाका हाल गुह्येश्वरीमाथिको वाग्मती, तिलगङ्गा, आलोकनगर, सुन्दरीघाट, मैतीदेवी, रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भाग, चक्रपथका उत्तरी र पश्चिमी भाग, मनोहरा, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्तेलगायत सांस्कृतिक सम्पदा गरी २५ स्थानमा सफाइ भइरहेको छ । 

काठमाडौँ उपत्यका बाहिरका प्रमुख शहर, नदी र सांस्कृतिक सम्पदामा पनि सफाइ अभियान चलेको छ । काठमाडौँ उपत्यका बाहिर करिब १०९ भन्दा बढी स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ । महाअभियानले देशव्यापी रुपमा सफाइ जागरण फैल्याउन सफल भएको छ ।

अभियानको सफलताका लागि स्थानीय सरकारले साथ दिनुपर्ने अभियानकर्मीको माग छ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर देशभर चलिरहेको सफाइ अभियानले स्थानीय सरकारकै काममा सहयोग गरिरहेको भएपनि स्थानीय सरकारको ध्यान नजाँदा हुनुपर्ने जति प्रभावकारी नभएको टिप्पणी हुने गरेको छ ।

महाअभियानले १२ औँ वर्ष प्रवेशको कार्यक्रम विशेषरुपमा गर्न लागेको जनाइएको छ । यसअघिका कार्यक्रम अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँगको सहकार्यमा गर्ने गरिएकामा यसपटक भने अभियानकर्मीकै समूहले गर्न लागेको अभियानकर्मी खरेलले सुनाइन् ।

तिलगङ्गा आँखा अस्पतालसँगैको चौरमा हुने कार्यक्रममा सबै पेशा, व्यवसाय र क्षेत्रका प्रतिनिधिलाई आमन्त्रण गरिएको जनाइएको छ ।