मन्त्री रघुवीर महासेठलाई बालेन शाहको ‘दैनिक एक ट्रक धुलो उपहार’



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई धूलो उपहार पठाएका छन् । विगत १५ वर्षदेखि कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट व्यहोर्नुपरेको भन्दै बालेनले भौतिक पूर्वाधारमन्त्री महासेठलाई एक ट्रक धूलो उपहार पठाएका हुन् ।

मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री महासेठलाई उनलाई पायक पर्ने ठाउँमा दैनिक एक ट्रक धुलो उपहार पठाउने घोषणा गरेका छन् । 


उनले शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग सुपरिवेक्षण तथा अनुगमन कार्यालय अगाडि एक ट्रक धूलो खन्याएको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्– 

माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यू ! 

तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ वर्षदेखि काठमाडौँको जनताले कलङ्कीदेखि महाराजगन्जसम्म रिङ रोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ ।

काठमाडौँमा हुने आधा भन्दा बढी प्रदूषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलो धुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नुपरेको छ, पुग्न अबेला भोग्नु परेको छ ।

र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ । यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईँ काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईँलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्विकार्नुहोला ।

https://www.facebook.com/plugins/video.php?height=317&href=https%3A%2F%2Fwww.facebook.com%2FbalenOfficial%2Fvideos%2F1009021877544072%2F&show_text=true&width=560&t=0