गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ, रामकोटस्थित त्रिपुरेश्वर महादेव मन्दिरको स्वरूप फेरिएको छ । प्रदेश तथा स्थानीय सरकार र अन्य सहयोगीबाट प्राप्त आर्थिक सहयोगले पर्यटकीय पूर्वाधार निर्माण भएपछि यहाँको स्वरूप फेरिएको हो ।
मन्दिर परिसरमा आवास, सत्तल निर्माण, खानेपानी शौचालय, मन्दिर परिसरमा ढुङ्गा छाप्ने लगायतको पूर्वाधार निर्माणजस्ता कार्य मन्दिरकै आन्तरिक आयबाट गरिँदै आइएका थिए । पछिल्लो दुई वर्षयता गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालय, काठेखोला गाउँपालिका, वडा कार्यालय र विभिन्न व्यक्तिहरुको सहयोगमा भौतिक पूर्वाधार निर्माणले तीव्रता पाएपछि यहाँको स्वरूप फेरिएसँगै पर्यटक आवागमनमा समेत वृद्धि भएको छ ।
सडकमार्गदेखि मन्दिर पुग्ने तीन सय ५० मिटर सडक ढलान गर्ने, रेलिङसहितको सय मिटर पदमार्ग निर्माण गर्ने काम सम्पन्न भइसकेको छ भने मन्दिर परिसरमा १०८ शिव लिङ्ग निर्माण गर्ने र प्रवेशद्वार निर्माण गर्ने कार्य चलिरहेको त्रिपुरेश्वर महादेव मन्दिरका अध्यापक हंस चैतन्यले जानकारी दिए । मन्दिर परिसरमै श्री परमानन्द वेदवेदाङ्ग संस्कृत विद्यालय पनि विसं २०३३ सालदेखि सञ्चालनमा छ ।
“प्राकृति भ्यूटावरजस्तो डाँडामा रहेको त्रिपुरेश्वर महादेव मन्दिर र मन्दिर परिसरले धेरैलाई लोभ्याउने गरेको छ । अहिले मध्यपहाडी लोकमार्ग हुँदै हिँडेका केही सवारीसाधन मन्दिर परिसरमा आइपुग्छन्, टिकटक बनाउँछन् र फोटो खिचेर जान्छन्”, चैतन्यले भने, “विशेष मेला लाग्ने समयमा धार्मिक पर्यटकको भीड थामिनसक्नु हुन्छ । शिवरात्रीमा त लोकमार्गसम्मै भक्तजनहरु हुन्छन् । घना जङ्गलको बीचमा रहेको मन्दिरसँगै प्राकृतिक छटामा रमाउन अघिपछि पनि यहाँ आउनेको सङ्ख्यामा वृद्धि भइरहेको छ ।”
यहाँ घुम्न आउने पर्यटकहरु बढ्नुको पछाडि पर्यटकीय पूर्वाधार प्रमुख कारण रहेको उनको भनाइ छ । यहाँ काठेखोला गाउँपालिकाको रु ३० लाख बजेटमा तीन सय ५० मिटर सडक ढलान गरेर मन्दिरको सय मिटर तल पु¥याइएको छ भने त्यसमाथि गण्डकी प्रदेश सरकारको रु १० लाख बजेटमा सय मिटर ढुङ्गा छापेर रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ ।
यस्तै, काठेखोला गाउँपालिका–५ घर भई हाल जापानमा कार्यरत रामु कँडलबाट रु १० लाख सहयोग प्राप्त भएकाले हाल प्रवेशद्वार निर्माणको काम भइरहेको त्रिपुरेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सदस्य गोविन्द विकले जानकारी दिए । “१०८ शिव लिङ्ग निर्माण गर्न थालिएको छ, प्रवेशद्वार कलात्मक बनाइँदै छ, पर्यटकहरुलाई लक्षितगरी विभिन्न पूर्वाधारहरु थप भइरहेका छन्”, विकले भने, “सम्पूर्ण हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको त्रिपुरेश्वर महादेव मन्दिर पछिल्लो समय फेरिएको छ ।”
विसं १७५० को समयमा हालको मन्दिर रहेको क्षेत्रमा केही कुटीहरु भएको र त्यसमा साधु सन्तहरू बस्ने गरिएको भन्ने गरिएको छ । हाल सोही ठाउँमा मन्दिर स्थापना गरिएको छ । विगतमा यस क्षेत्रमा रामका भक्तहरू बस्ने भएकाले मन्दिरलाई रामकोट र पछि स्थानीयले शिव लिङ्ग स्थापनागरी आश्रम बनाएपछि यो क्षेत्र शिवालयका नामले परिचित छ ।