प्रधानमन्त्री दाहालले भने : कैलाश सिरोहियासँग केको रिसइबी ?



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालती प्रक्रियाबाटै पक्राउ परेको बताएका छन् । प्रधानमन्त्री दाहालले सरकारले कान्तिपुरविरुद्ध कुनै पनि रिसइबी नसाधिएको समेत बताएका छन् ।  

‘हिमाल, मानिस र जलवायुसम्बन्धी विज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ कार्यक्रमपछि पत्रकारहरूसँग चन्द्रागिरीमा संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले अदालती प्रक्रियाबाटै सिरोहियामाथि छानबिन अगाडि बढेको बताएका हुन् । ‘अदालतले प्रक्रिया अगाडि बढाऊ भनेपछि अदालती प्रक्रिया बुझ्याछु मैले । यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई,’ उनले भने ।


‘सरकारले रिसइबी साध्यो भन्ने छ नि’ पत्रकारको प्रश्नमा प्रधानमन्त्री दाहालले भने, ‘त्यो गलत कुरा हो । उहाँसँग केको रिसइबी ? ‘

‘गृहमन्त्री व्यक्तिगत रूपमै प्रतिशोधमा उत्रिनुभयो भन्ने छ नि’ भन्ने अर्को प्रश्नमा प्रधानमन्त्री दाहालले भने, ‘त्यो मान्छेले भन्ने कुरा मात्रै हो । अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नुहुन्छ । यो हल नै भइहाल्छ ।’