भैरहवा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले नेपाल दुई ठूला अर्थतन्त्र भएको राष्ट्रबीच भए पनि अपेक्षाकृत फाइदा लिन नसकिरहेको बताएका छन्।
नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर ३, रुपन्देहीद्वारा आज भैरहवामा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले ठूला अर्थतन्त्र भएका चीन र भारतबीच रहेको नेपालले आफ्नो आर्थिक वृद्धि हाँसिल गर्ने सक्ने संभावना धेरै रहेको छ भने।
फरक प्रसंगमा बोल्दै नेता डा रिजालले आउँदो निर्वाचनमा कांग्रेस गठबन्धन नगरी सबै स्थानमा उम्मेदवारी दिनुपर्ने धारणा राखे। उनले विगतका निर्वाचनमा कांग्रेसले सबै ठाउँमा आफ्ना उम्मेदवार नउठाएका कारण कांग्रेसको मत घटेको बताए। नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर ३, रुपन्देहीका सभापति सुशील गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो।