नदीजन्य वस्तु उत्खनन रोकिँदा विकास निर्माण प्रभावित



मुगु । मुगु जिल्लास्थित छायानाथ रारा नगरपालिकामा नदीजन्य वस्तु उत्खनन रोकिँदा निर्माण प्रभावित भएका छन् । स्थानीय प्रशासनले स्थानीय सरकारलाई वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन तयार गरेर मात्र नदीजन्य वस्तु उत्खनन तथा बिक्री वितरण निर्देशन दिएको थियो ।

प्रतिवेदन तयार नगरी गैरकानुनी तरिकाले उत्खनन तथा बिक्री वितरण गरी नदी दोहन गरिएको पाइएको जनाउँदै पछिल्लो समय प्रशासनले नदीजन्य वस्तु उत्खनन, खरिद र बिक्रीमा रोक लगाएको थियो । ढुङ्गा, गिट्टी, बालुवा, उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७९ अनुसार स्थानीय गाउँपालिका वा नगरपालिकाले आफ्ना कार्यक्षेत्रभित्र खोला, नदीमा नदीजन्य पदार्थ उत्खनन गर्न वातावणीय प्रभाव अध्ययन गरी प्रतिवेदन तयार पारेर प्रतिवेदनमा उल्लिखित परिमाण र तोकिएको क्षेत्रमा मात्र नदीजन्य पदार्थ उत्खनन गर्नुपर्छ ।


लामो समय भइसक्दा पनि छायानाथ रारा नगरपालिका क्षेत्रमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरी बिक्री, वितरण गरिरहेको र जथाभावी नदीजन्य पदार्थ दोहन हुँदा सडक, पुल र नदी आसपासको जमिनमा जोखिम बढ्न थालेपछि स्थानीय प्रशासनले अवैध नदीजन्य पदार्थ दोहन रोक्न गिट्टी, बालुवा, ढुङ्गा उत्खनन रोकेको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए ।

मापदण्ड २०७९ अनुसार स्थानीय सरकारहरुले तयार पारेको वातावणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको अवधि तीन वर्षको हुन्छ । छायानाथ रारा नगरपालिकाले २०७६ सालमा प्रतिवेदन गरेर ठेक्कामार्फत नदीजन्य वस्तुको उत्खनन, खरिद बिक्री गर्दै आए पनि प्रतिवेदनको अवधि सकिएको दुई वर्ष बितिसक्दा पनि नगरपालिकाले आइइइ नगरी अवैध रुपमा खरिद, ढुवानी गर्दै आएकाबाट शुल्क भने उठाउँदै आएको जनाइएको छ । गत शनिबारदेखि स्थानीय प्रशासनले नदीजन्य वस्तु गिट्टी, बालुवा, ढुङ्गा उत्खनन, खरिद बिक्री र ढुवानीमा रोक लगाएपछि गमगढी बजारमा निर्माणाधीन व्यक्तिगत घर र नगर क्षेत्रभित्रमा सञ्चालनमा रहेका, सम्झौता भएका नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारका योजना प्रभावित भएका छन् ।

नगरपालिकाको आर्थिक सहयोगमा निर्माणाधीन आँखा अस्पताल मुगुको भवन बनाउन समस्या भएको छ । निर्माण कम्पनीका प्रतिनिधि सन्तोषकुमार मल्ल भने, ‘आथिक वर्षको अन्तिममा विना सूचना गिट्टी, बालुवा, ढुङ्गा बन्द गरिँदा अब हामीले निर्माणको काम कसरी गर्ने ? यसको जिम्मा कस्ले लिने नगरपालिकाले लिने कि प्रहरी कार्यालयले लिने कि प्रशासन ।’

रारा बहुमुखी क्याम्पसको चारकोठे भवन निर्माणको जिम्मा लिएको निर्माण कम्पनीका प्रतिनिधि सुरेन्द्र रावल बाधा अड्काउ कसरी फुकाउने त्यो नगरपालिकाले जिम्मा लिनुपर्ने र समयमै काम नसकिए आफूहरु जिम्मेवार नहुने पनि बताए । नगर क्षेत्रका झुगेला, अल्कासाघु, भैसीकुना, घट्ट, बालै भन्ने स्थानबाट बालुवा, गिट्टी र ढुङ्गा उत्खनन तथा बिक्री हुँदै आएको छ । मुगु कर्णाली र गमगाढ खोला नदीजन्य वस्तुका प्रमुख स्रोत हुन् ।

आथिक वर्ष सकिन एक महिना मात्र बाँकी रहेका बेला विनासूचना नदीजन्य वस्तु, पदार्थ रोकिँदा निर्माण कम्पनी, उपभोक्ता समिति विकास निर्माणका काम कसरी गर्ने भनेर चिन्तित बनेका छन् । जिल्ला प्रहरी कार्यालयका मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले अवैध उत्खनन, खरिद, ढुवानी र बिक्रीमा निगरानी बढाएको बताए ।

छायानाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भाम नगरपालिकाले वातावणीय प्रभाव अध्ययन प्रतिवेदन तयार गर्नका लागि प्रक्रिया अघि बढाइरहेको जानकारी दिए । उनले नदीजन्य वस्तुमा स्थानीय प्रशासनले रोक लगाउँदा विकास निर्माणका काम ठप्प भई धेरै बजेट ‘फ्रिज’ जाने भएकाले नगरपालिका, स्थानीय प्रशासन र जिल्ला समन्वय समितिको समन्वयात्मक बैठक बसी छिट्टै बाधा अड्चन फुकाउने  बताए  ।