कोशीका मुख्यमन्त्री कार्कीलाई नेकपा एसले विश्वासको मत नदिने



काठमाडौं । नेकपा एकीकृत समाजवादीले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने भएको छ । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामै रहेका बेला विश्वासको मत लिन खोजेको भन्दै एकीकृत समाजवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने भएको हो ।

एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताए ।
‘मुख्यमन्त्रीविरुद्धको मुद्दा अदालतमा विचाराधिन छ । हतार हतार बेला विश्वासको मत लिन खोज्नु गलत हो, हामी विश्वासको मत लिने बैठकमा अनुपस्थिति रहन्छौं,’ उनले भने ।


मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ ।सोही प्रावधानअनुसार मुख्यमन्त्री कार्कीले भोलि सोमबार विश्वासको मत लिँदैछन् ।

एमालेका उपसभामुखसहित ४० र माओवादीका १३ जना सांसदको समर्थनमा कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएका मुख्यमन्त्री कार्कीको नियुक्ति प्रक्रियाका विरुद्धमा कांग्रेस सांसद तथा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिट दायर गरेका छन् ।

उक्त रिटको अन्तिम सुनुवाइका लागि अदालतले जेठ ९ गतेका लागि समय तोकेको छ । कोशी प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपा नेपालका १ सांसद छन् ।