किर्गिजस्तानको राजधानीबाट सयौँ पाकिस्तानी विद्यार्थी स्वदेश फिर्ता



किर्गिजस्तानको राजधानी बिश्केकमा विद्यार्थी आवास नजिक स्थानीयवासी र विदेशीहरूबीच झडप भएपछि छ सय ५० भन्दा बढी पाकिस्तानी विद्यार्थीलाई स्वदेश फिर्ता गरिएको पाकिस्तानको विदेशमन्त्रीले आइतबार बताउनुभएको छ । शुक्रबार राति विभिन्न देशका सयौंँ विद्यार्थीबीच भएको झडपमा चार पाकिस्तानी विद्यार्थी घाइते भएका छन् ।

विद्यार्थीहरूलाई अधिकारीहरूले घरभित्रै बस्न आदेश दिएको सहरका विद्यार्थीहरूले पाकिस्तानी मिडियालाई जानकारी दिएका छन् । “तीन विशेष व्यावसायिक उडानको व्यवस्था गरिएको छ”, विदेशमन्त्री इशाक दारले इस्लामाबादमा पत्रकार सम्मेलनमा भने, “यो पाकिस्तानी विद्यार्थीमाथि मात्र नभएर विदेशी विद्यार्थीहरूमाथि आक्रमण भएको थियो, यसमा भारतीय, बङ्गलादेशी र अरब विद्यार्थी पनि थिए ।”


करिब एक सय ३० विद्यार्थी शनिबार पाकिस्तान पुगेका छन् भने आइतबार पाँच सय ४० जना आउँदैछन् । सरकारले झडपको विवरण दिन किर्गिजस्तानका उपराजदूतलाई शनिबार विदेश मन्त्रालयमा बोलाएको थियो । किर्गिजस्तानको गृह मन्त्रालयले अनलाइन प्रकाशित एक विज्ञप्तिमा ‘अराजकपूर्ण’ हप्ताको सुरुमा विदेशी विद्यार्थीहरूले उनीहरू छात्रावासमा अपरिचित व्यक्तिहरूद्वारा उत्पीडित भएको रिपोर्ट गरेपछि घटना भएको जनाएको छ ।

स्थानीय सञ्चारमाध्यका अनुसार किर्गिजस्तानमा ११ हजारभन्दा बढी पाकिस्तानी अध्ययन गरिरहेका छन् । किर्गिजस्तान विशेषगरी चिकित्सा विद्यार्थीहरूमाझ लोकप्रिय छ ।