काठमाडौं महानगरको १५औँ नगर सभा जेठ ३२ मा



काठमाडौं। काठमाडौं महानगरपालिकाको नगर सभा, १५ औँ अधिवेशन ज्येष्ठ ३२ गतेका लाागि आव्हान गरिएको छ। आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिकाको ३२ औँ बैठकले नगर सभाको मिति तय गरेको हो।

आज बसेको बैठकले नयाँ सडक क्षेत्रमा पैदल मार्ग विस्तार र वडा नं. २२ बाट राजस्व सम्बन्धी फाइल केन्द्रमा लगिएको सम्बन्धी विषय शिक्षक दरबन्दी परिपूर्ति गर्ने लगायतका विषयमा छलफल गरेर प्रस्ताव पारित गरेको छ।


त्यस्तै बैठकले ‘कानुन तर्जुमा र स्थानीय राजपत्र तथा नीतिगत दस्तावेज सम्पादन एवं प्रकाशन कार्यविधि ( २०८१’ ‘श्रम बैंक सञ्चालन कार्यविधि–२०८०’ को पहिलो संशोधन र ‘टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि ( २०८०’ मा पहिलो संशोधनका लागि सैद्धान्तिक सहमति दिएको छ। यस्तै ‘फार्मेसी सञ्चालन तथा नियमन सम्बन्धी निर्देशिका–२०८१’ र ‘साथी महानगर सञ्चालन कार्यविधि–२०८१’ संशोधनसहित पारित भएका छन्।

६० वर्ष उमेर पूरा भएका र १० वर्ष सेवा गरेर स्वेच्छिक अवकाशमा जान चाहने स्वयमसेविकाहरुलाई सुविधासहित सेवाबाट अलग हुने अवसर प्रदान गर्ने बैठकले निर्णय गरेको छ। यस्तै सहरी योजना आयोगको सदस्यमा इञ्जिनियर शैलेन्द्र झा र प्रसुनरत्न बज्राचार्यको नियुक्तिलाई अनुमोदन गरेको छ।

बैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारी, पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ, विधायन समितिका सदस्य सचिव वसन्त आचार्य र स्वास्थ्य तथा शिक्षा समितिका सदस्य सचिव गोविन्दप्रसाद शर्माले प्रस्ताव पेश गरेका थिए।

यस्तै कार्यपालिका सदस्यहरु उदयचुडामणि बज्राचार्य, राजेन्द्रकुमार श्रेष्ठ, ईश्वरमान डंगोल, नवराज पराजुली, कुश ढकाल, दलबहादुर कार्की, विनोकुमार अछामी र महेश नेपालीले विषयमाथि धारणा राखेका थिए।