कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि



नवलपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी भएको बताएका छन् । नेपाली कांग्रेस चितवनको प्रशिक्षण विभागले आज नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटनमा उनले अन्य कुनै पार्टी लोकतान्त्रिक पार्टी नभएको बताए । 

“नेपाली कांग्रेस मात्रै लोकतान्त्रिक, बहुलवादी र संसदवादी पार्टी हो”, उनले भने, “अरु कुनै पार्टी पनि हैनन् ।” नेपालमा ल्याइएको सङ्घीय लोकतान्त्रिक गणतान्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउनु अहिलेको आवश्यकता भएको नेता निधिको भनाइ छ । सङ्घीय संरचना नेपालमा ल्याइए पनि सङ्घीय प्रणालीअनुसारको पूरा संरचना निर्माण भइनसकेको उनले बताए । 


“सङ्घीय प्रणालीको संरचनात्मक अवयवको लागि हामीले कानुन बनाएका छैनौँ, संविधानको अनुसूचीमा रहेका कुरा हामीले दिएका छैनौँ”, उनले भने, “सङ्घीय प्रणाली लागू ग-यौँ, तीन तहको सरकार निर्माण गरियो तर प्रदेश मातहतमा आफ्नै प्रहरी छैन ।” संविधानले सङ्घीय, प्रदेश र स्थानीय तह गरी तीन वटा सरकार निर्माण गरेको भन्दै नेता निधीले प्रहरी नभइ सरकार नहुने बताए। सङ्घीयताको पक्षमा अझै कानुन बनाउँदै सङ्घीय प्रणालीलाई मजबुत बनाउनुपर्ने नेता निधिको धारणा थियो । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले केन्द्रीय नेताहरुका कारण नेपाली कांग्रेसको जनमत घट्दै गएको बताए । “केन्द्रले गठबन्धन गरेर पठाउँदा हामीले कहिले हसिया हथौडामा, कहिले हलोमा मतदान गर्नुपरेको छ”, उनले भने, “जसका कारण केन्द्रबाट कांग्रेस बिगार्ने काम भइरहेको छ ।” तीन दिनसम्म सञ्चालन हुने आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा ४५ जनाको सहभागिता रहेको प्रशिक्षण शाखाका सचिव टङ्कनाथ पौडेलले जानकारी दिए ।