कांग्रेसले भन्यो- सभामुखले पार्टी नेतृत्वको निर्देशन मान्नुभयो



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख पार्टी नेतृत्वको निर्देशनमा चल्नु दुर्भाग्य भएको जनाएको छ ।

सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभा (वेल) घेराउ गरिरहँदा सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि यस्तो आरोप लगाएको हो ।


‘प्रतिपक्षी वेलमै आइसकेपछि संसभालाई अगाडि बढाउने काम गर्न हुँदैनथ्यो। तर, सिधै तलबाट नेताहरूले अगाडि बढा भन्ने र सभामुखले जबरजस्ती सभा सञ्चालन गर्न थाल्नुभयो,’ बैठकपछि बाहिरिने क्रममा कांग्रेस प्रवक्तासमेत रहेका सांसद डा. प्रकाशशरण महतले भने, ‘यो हाम्रो संसदीय इतिहासमा सबैभन्दा अमर्यादित, गर्न नहुने, संसदीय विधिको बर्खिलाप त्यसको रक्षा गर्न बसेका सभामुखले पार्टी नेतृत्वको निर्देशनमा हुनु दुर्भाग्य हो ।’

सभामुख देवराज घिमिरेले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापति धनराज गुरुङबीच भनाभन भएको थियो ।