महोत्तरी । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कैलाश प्रसाद सिरोहियालाई जोडेर सञ्चार जगतमाथि हमला भएको भन्ने विषयप्रति आपत्ति जनाएका छन् ।
पाटीको एक कार्यक्रममा सहभागी हुन महोत्तरी आई पुगेका नेता पोखरेलले कानुनको स्वाभाविक प्रक्रिया अन्तर्गत नै पक्राउ परेका सिरोहियालाई लिएर मिडियाहरूले भ्रम फैलाउने काम गरेको बताए ।
नागरिकताको विषयलाई लिएर जिल्ला अदालतमा परेको मुद्दा प्रक्रियामा अनुसन्धानको लागि पक्राउ परेका सिरोहिया मात्र हैन जोसुकै कारबाहीको दायरामा आउनुपर्ने नेता पोखरेलको जिकिर छ ।
‘सञ्चार जगतको हमला कहाँबाट आयो ?’ उनले प्रतिप्रश्न गर्दै भने । ‘ धनुषा जिल्ला अदालतमा मुद्दा परेको छ, पक्राउ पुर्जी जारी भएको छ त्यसपछि पक्राउ गरिएको हो ।’
सरकार लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने बताउँदै नेता पोखरेलले नेकपा एमालेका अध्यक्ष केपी सर्मा ओलीले समेत यो विषयमा संक्षिप्त भनाई राखेको बताए ।