इस्तानबुलको ‘ताक्सिम स्क्वायर’मा प्रदर्शनमा प्रतिबन्ध



इस्तानबुलको मध्य ‘ताक्सिम स्क्वायर’मा श्रमिक दिवस (मे दिवस) को दिन कुनै पनि विरोध प्रदर्शन गर्न नदिन मङ्गलबार टर्कीको प्रहरीले उक्त क्षेत्रमा प्रदर्शन गर्न प्रतिवन्ध लगाइएको घोषणा गरेको छ । एएफपीका संवाददाताका अनुसार प्रहरीले चोकको चारैतिर अग्लो धातुको बार लगाएको छ ।

सोमबार अधिकारीहरूले मे दिवस मनाउनका लागि ४० क्षेत्र निर्धारण गरेको गृहमन्त्री अली येर्लिकायाले बताएका छन् । सन् २०१३ मा राष्ट्रपति रेसेप तैयप एर्दोगानको सरकारविरुद्ध भएको प्रदर्शनको केन्द्रबिन्दु रहेको उक्त चोकको प्रयोग गर्न केही युनियनले माग गरेको तर यसलाई अनुमति नदिइने यर्लिकायाले बताए । “तक्सिम स्क्वायर र यसको वरपरको क्षेत्र कुनै पनि प्रदर्शनका लागि सुविधाजनक छैन,” उनले भने ।


गत मार्च ३१ मा भएको स्थानीय चुनावमा विजयी भएको टर्कीको प्रमुख प्रतिपक्षी दल सीएचपी पार्टीले भने श्रमिक ¥यालीका लागि चोक खुला गर्न सरकारलाई दबाब दिएको छ । सीएचपीका नेता ओजगुर ओजेलले सोमबार गृहमन्त्रीलाई ताक्सिममाथिको प्रतिबन्धबारे पुनर्विचार गर्न आग्रह गरेका छन् । उनले भने, “तक्सिमलाई प्रदर्शन गर्न निषेधित गर्नु भनेको संविधानको वर्खिलाप गर्नु हो ।”

एम्नेस्टी इन्टरनेसनलको अधिकार समूहले पनि यो प्रतिबन्ध पूर्णतया नक्कली सुरक्षा र सार्वजनिक व्यवस्थामा आधारित रहेको भन्दै यसलाई हटाउन माग गरेको छ । एम्नेस्टीले उक्त चोकलाई ‘ठूलो साङ्केतिक महत्वको स्थान’ भनेको छ । एम्नेस्टीले भनेको छ, “एक दशकभन्दा बढी समयदेखि टर्कीका अधिकारीहरूले गैरकानुनी रूपमा मानिसहरूको भेला हुन पाउने अधिकारलाई प्रतिबन्धित गरेका छन् र चोकमा हुने शान्तिपूर्ण विरोध प्रदर्शनलाई अपराधीकरण गरेका छन् ।”

सरकार र प्रहरी प्रशासनले मे १ का लागि ४२ हजारभन्दा बढी प्रहरीलाई प्रदर्शन र यसका कारण निम्तिनसक्ने दङ्गा नियन्त्रणका लागि भन्दै तैनाथ गर्ने जनाएको छ ।