इम्बोस्ड नम्बर प्लेट जडान प्रभाकारी देखिएन, आठ वर्षमा ६६ हजारमा मात्र जडान



काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारको योजना प्रभावकारी बन्न सकेको देखिएको छैन ।

आइतबार सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणअनुसार आठ वर्षमा ६६ हजार ७ सय १५ सवारीमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान भएको छ ।  ५ लाख ८० हजार ८८६ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन गरिएको छ । 


इम्बोस्ड नम्बर जडानका लागि बंगलादेश र अमेरिकाको डेकाटुर–टाइगर आईटी कम्पनीले ०७३ जेठ १९ मा ज्वइन्ट भेन्चरमा ठेक्का लिएको हो ।

सम्झौताअनुसार ५ वर्षभित्र २५ लाख सवारीमा इम्बोस्ड नम्बर जडान गरिसक्नुपर्ने भए पनि प्रभावकारी काम हुन नसकेको देखिएको छ । 

०७८ असारमा म्याद सकिएपछि ०८० मंसिर १२ सम्म म्याद थपिएको थियो । उक्त अवधिमा पनि काम पूरा नभएपछि फेरि दुई वर्ष थप गरिएको छ ।

सुरु ठेक्का रकम ४ अर्ब १६ करोड ७९ लाख ५० हजार (मूल्य अभिवृद्धि करबाहेक) रुपैया“ रहेकामा पछि म्याद थपसँगै २२.५० प्रतिशतले रकम बढाइएको छ । अहिले मुलुकको ६ स्थानबाट सवारी साधनमा इम्बोस्ड नम्बर जडानको व्यवस्था गरिएको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म उत्पादित १ लाख १५ हजार ७ सय ८६ थान इम्बोस्ड नम्बर प्लेटमध्ये ९ हजार ९ सय ९१ सवारीमा जडान गरिएको छ । त्यस्तै ०८० असारसम्म ३६ वटा यातायात व्यवस्था र यातायात सेवा कार्यालयमा विद्युतीय सवारी चालक अनुमतिपत्र प्रणाली लागु भएकोमा अहिले कार्यालय थप गरी ३९ वटा बनाएर यो सेवा उपलब्ध गराइएको छ ।