अडानबाट कांग्रेस टसमस भएन, सभामुख र दलका प्रमुख सचेतकबीचको छलफल निष्कर्षविहीन



काठमाडौं । सभामुख देवराज घिमिरे र प्रमुख राजनीतिक दलका प्रमुख सचेतक, र सचेतकबीचको छलफल निष्कर्षविहीन बनेको छ ।

सिंहदरबारस्थित कार्यकक्षमा सभामुख र कानून, न्याय तथा संसदीय मामिला मन्त्री र प्रमुख दलका मुख्यरप्रमुख सचेतक र सचेतकसँगको छलफल निष्कर्षविहीन भएको हो । १ जेठमा सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको सन्दर्भमा सभामुख घिमिरेले कानुनीमन्त्री पदम गिरीलाई साथमा राखेर प्रमुख सचेतकहरूसँग आइतबार सिंहदरबारमा छलफल गरेका थिए ।


बैठकमा कांग्रेस र राप्रपाले आआफ्ना अडान राखेका छन् भने एमालेलगायत सत्ता पक्षले संसदीय समिति गठन हुन नसक्ने अडान लिएका छन् । बैठकपछि बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सहकारीको बारेमा कुरा उठेको बताए । उनले भने, ‘बल नेपाल सरकारको कोर्टमा छ । सरकार कुन रूपमा प्रस्तुत हुन्छ त्यही रूपमा अघि बढ्छ ।’

सहकारीको रकम अपचलनको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग राखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । सदनको गतिरोध अन्त्यसहितका विषयमा सभामुख घिमिरेले दलका सचेतकहरूसँग छलफल गरेका हुन् ।