सिरहा । वन संरक्षण र पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले लहान नगरपालिका–१७ स्थित हरिपुरको देवीथान सामुदायिक वनमा दुईतले पक्कीे भवन निर्माण हुने भएको छ ।
मधेस प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयबाट प्राप्त रु एक करोड ३९ लाख लागतमा भवन निर्माण हुन लागेको हो । उक्त भवनको शिलान्यास आज लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले गरे ।
“भवन निर्माणपछि यस सामुदायिक वन संरक्षण र सौन्दर्यकरण हुने विश्वास लिएको छु,” नगरप्रमुख चौधरीले भने, “यसका साथै पर्यटन व्यवसाय प्रवर्द्धनमा पनि टेवा पुग्नेछ । वनमै कार्यालय बनेपछि वन उपभोक्ता समितिको सक्रियता बढ्ने र जङ्गलमा हुने चोरी–सिकारी न्यूनीकरण गर्न मद्दत पुग्नेछ ।”
विगतमा भवन बनाउन नसक्दा आफ्नै घरलाई कार्यालय बनाउनुपर्ने अवस्था रहेको देवीथान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष त्रिपटलाल यादवले बताए ।
“समितिको कार्यालय झोलामा सीमित थियो । लामो प्रयासका बाबजुद भवन बनाउन प्रदेश सरकारबाट बजेट प्राप्त भएको छ,” उनले भने, “अब एक वर्षभित्र व्यवस्थित कार्यालय बन्ने भएपछि खुसी लागेको छ ।”
अध्यक्ष यादवका अनुसार भवन परिसरमा वनभोजस्थल र वरिपरि सुन्दर बगैँचा निर्माण हुनेछ । भवनको नजिकै देवीदह र पकडियागढी जस्ता ऐतिहासिक पर्यटकीय स्थलसमेत भएकाले पर्यटक आगमन वृद्धि हुने अनुमान अध्यक्ष यादवको छ ।