संसद बैठकअघि विपक्षी दलहरू छलफलमा



काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक बसेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सदनमा रहेका विपक्षी दलका नेताहरूलाई छलफलका लागि बोलाएका हुन्।

बैठकमा सभापति देउवासहित कांग्रेसका पदाधिकारीहरू र प्रमुख सचेतक रमेश लेखक, राप्रपा नेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाही, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारीलगायत सहभागी छन्।


सहकारीको संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग नेपाली कांग्रेसले गर्दै आएको छ । कांग्रेसको यो मागमा जसपा नेपाल, राप्रपा, लोसपा लगायतका दलहरुले पनि समर्थन जनाएका छन् । उनीहरुको अडानका कारण संसदको गतिरोध अन्त्य हुन सकेको छैन ।

सहकारी प्रकरणमा संसदीय समिति बनाउने सहमति भएसँगै आज संसद् बैठकले निरन्तरता पाउने भएको छ । आज ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक अघि सभामुख देवराज घिमिरेले पनि प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।