शिवसताक्षीमा असारभित्र नगर अस्पताल सञ्चालन हुने



झापा । शिवसताक्षी नगरपालिकामा चालु आर्थिक वर्षभित्र नगर अस्पताल सञ्चालन हुने भएको छ । सुविधासम्पन्न भवन निर्माण भएसँगै १५ श्ययाको नगर अस्पताल चालु आवभित्रै सञ्चालनको तयारी गरिएको हो । 

शिवसताक्षी नगरपालिका–६ मा रु १० करोड ६७ लाखमा ठेक्का लागेर पाँच वर्षपछि डेढ बिघा जमिनमा निर्माण सम्पन्न भइसकेको पालिकाले जनाएको छ ।  यस अस्पतालबाट जिल्लाको दक्षिणी भेगका स्थानीय तहहरु गौरादह, गौरीगञ्ज, शिवसताक्षी, झापा गाउँपालिकाका नागरिकहरुले उपचार पाउने नगरपालिकाका सूचना अधिकारी प्रकाश चौधरीले जानकारी दिए । 


अस्पतालका लागि ३० जनाको दरबन्दी रहनेगरी मन्त्रालयले सङ्गठानात्मकस्वरुप पठाइसकेको उनले जानकारी दिए । अस्पतालमा चार जना मेडिकल अधिकृत, नर्स तथा अन्य स्वास्थ्यकर्मीले सेवा दिनेछन् । अस्पतालबाट २४ सै घण्टा सेवा उपलब्ध गराउने नगरपालिकाको योजना छ । 

नगर अस्पताल सञ्चालन भएपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ । अस्पतालमा विद्युत्, पानी र कोठाको व्यवस्थापन गर्न बाँकी छ । यसअघि विर्तामोड, कनकाइ, दमक, बुद्धशान्ति र अर्जुनधारा नगरपालिकाले नगर अस्पताल सञ्चालनमा ल्याइसकेका छन् ।