![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
भोजपुर । टेम्केमैयुङ गाउँपालिका ३ का ३५ वर्षीय रञ्जित गिरी चियाखेतीमा लागेको एक दशक नाघ्यो । बुबा शरमान गिरीले सुरु गरेको चियाखेतीलाई अगाडि बढाएका उनको दैनिकी चियाका बोटको हेरचार, स्याहार र प्रशोधनमै बित्छ ।
असी रोपनी क्षेत्रफलमा फैलिएको चियाबगानलाई उनले यतिबेला पर्यटकीय गन्तव्य बनाउन सक्रिय भएका छन् । “यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर चिया बगानभित्रै टेम्के फनपार्क तथा रिसोर्ट सञ्चालन सुरु गरेको छु”, रञ्जित गिरीले भने, “रिसोर्ट निर्माणपछि पर्यटकहरु बिस्तारै बढ्न थालेका छन् ।”
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
करिब एक वर्षअघिबाट सञ्चालनमा आएको रिसोर्टमा रु ९० लाख लगानी गरेका छन् । चियाखेतीबाट आम्दानीसँगै बगानमा पर्यटक बढाउन पनि सकिने उनको विश्वास छ ।
विसं २०७६ देखि गुरास चिया उद्योग सञ्चालन गरिरहेका उनको यो उद्योग भोजपुरमा एक्लो हो । हालसम्म चियाका लागि करिब रु दुई करोड ५० लाख लगानी गरेका उनले आफूले उत्पादन गरेको चियाले नेपाल चिया तथा कफी विकास बोर्डबाट ट्रेडमार्कसमेत पाइसकेको जानकारी दिए ।
“अग्र्यानिक चिया भएकाले देशका ठूला सहरसँगै विदेशसम्म जान थालेकाले चिया बजारीकरणमा कुनै समस्या छैन”, उनले भने । गिरीले चियाले उचित मूल्य पाएमा वार्षिक रु २५ देखि ३० लाखसम्म आम्दानी गर्न सकिने उनले बताए । उनले हाल अग्र्यानिक हरियो चिया (ग्रिनटी) प्रतिकेजी रु एक हजार आठ सय, कालो चिया रु एक हजार दुई सय र सिल्भर चिया रु ३० हजारमा बिक्री गर्दै आएका छन् । उनले चिया उद्योग सञ्चालनका लागि कोशी प्रदेश सरकारबाट प्रोत्साहनस्वरुप रु १७ लाख ५० हजार अनुदान पनि पाइसकेका छन् ।
“चियाखेतीबाट आम्दानी राम्रो छ, अब पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना बनाएका छौँ”, उनले भने, “चियाखेती हुने क्षेत्रफल बढाउने पनि योजना छ ।” हाल उहाँको उद्योगमा पाँच जनाले रोजगारी पाइरहेका छन् ।
बगानमा उत्पादन भएको चिया एक महिनामा चार पटकसम्म टिप्न सकिने गिरीले जानकारी दिए । उनले चियाको नर्सरीसमेत आफैँ गर्दै आएका छन् भने किसानलाई आवश्यक परामर्श पनि दिन्छन् । युवा व्यवसायी गिरीलाई प्रोत्साहन गर्नका लागि वडा कार्यालयका तर्फबाट सडक मर्मतका लागि रु तीन लाख उपलब्ध गराइएको वडाध्यक्ष पूर्णप्रसाद राईले बताए ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)