काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सर्ने रोगको तुलनामा नसर्ने रोगले धेरै मानिस मृत्युवरण गर्न बाध्य भएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले मुटु रोग, क्यान्सर, उच्च रक्तचापको लहरमै आउने मधुमेहबाट मृत्यु हुनेको सङ्ख्या उच्च रहेकोमा चिन्ता व्यक्त गरेका हुन् ।
काठमाडौँमा आज ‘नेपाल डाइबिटिज’ संस्थाले आयोजना गरेको ‘डाइबिटिज नेपाल अन्तर्राष्ट्रिय सम्मेलन’ लाई सम्बोधन गर्दै उनले मधुमेह नियन्त्रणमा जोड दिए। “यो रोगलाई निर्मूल पार्न नसके पनि अनुशासित जीवन शैली, खानपान, शारीरिक व्यायाम, नियमित स्वास्थ्य जाँच र समयमै औषधि सेवन गरी नियन्त्रणमा राख्न सकिन्छ,” उनले भने, “मधुमेह ‘क्रोनिक मेटाबोलिक’ रोग हो, जुन रगतमा ग्लुकोज ९चिनी० को मात्रा उच्च स्तरमा पुगेपछि लाग्छ । समयमै यो रोगको पहिचान, निदान, व्यवस्थापन र रोकथाम गर्न नसके व्यक्तिको शरीरमा विभिन्न किसिमका जटिलता निम्त्याउन सक्छ ।”
नेपालजस्तो विकासोन्मुख देशमा जनताको राम्रो स्वास्थ्यमा पहुँच नहुनु र रोगको परीक्षण समयमा हुन नसक्नुले समस्या भएको उनले बताए। “परीक्षणको अभावले गाउँघरमा मधुमेहबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएकामा चिन्तित छु,” उनले भने, “शरीरमा प्यान्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिनको उत्पादन गर्न छाडेपछि लाग्ने यो रोग तीन दशकयता विश्वमा नाटकीय रूपमा बढेको तथ्याङ्कहरूले देखाएको छ ।”
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को प्रतिवेदनअनुसार विश्वभर ४२ करोड २० लाख मानिसमा मधुमेह छ, जसमध्ये अधिकांश निम्न र मध्यम आय भएका देशहरूमा बसोबास गर्दछन् । यसैगरी, प्रत्येक वर्ष १५ लाख मानिसको मृत्यु मधुमेहकै कारणले हुने गरेको छ । उपराष्ट्रपति यादवले यी डरलाग्दा तथ्याङ्कहरूले मानिस आफ्नै स्वास्थ्यप्रति गम्भीर नरहेको उल्लेख गर्दै सबैलाई आफ्नो शरीर र स्वास्थ्यप्रति सचेत, सावधान र गम्भीर बन्न आग्रह गरे । उनले सीमित स्रोत र साधनका कारण स्वास्थ्य परीक्षण, परामर्श र औषधि उपचारका लागि ‘डाइबिटिज नेपाल’ जस्ता संस्थाहरू ग्रामीण भेगमा पुग्न जरुरी रहेको बताए ।
“सरकारले चाहेर पनि कतिपय काम गर्न नसकिरहेको अवस्थामा यस्ता सङ्घसंस्थाले गर्ने शिविरहरू महत्त्वपूर्ण हुन सक्छ,” उनले भने, “सम्मेलनमा सहभागी सम्पूर्ण विशेषज्ञलाई स्वास्थ्यजस्तो महत्त्वपूर्ण विधामा आफूले प्राप्त गरेका ज्ञानलाई एक आपसमा बाँड्न सफलता मिलोस् ।” कार्यक्रममा धुलिखेल हस्पिटललाई ‘डाइबिटिज अचिभमेन्ट अवार्ड-२०२४’ समेत प्रदान गरिएको थियो ।