ब्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश, जोशीले जिते मुद्दा



काठमाडौँ । तनहुँको ब्यास नगरपालिकामा स्थानीय तह निर्वाचनको पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।  मङ्गलवार अदालतले ब्यासमा दुई वर्षअघि सम्पन्न स्थानीय तह निर्वाचनको पुनः मतगणना हुने फैसला गरेको हो । 

सो स्थानीय तहका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले दायर गरेको रिटमा न्यायाधीशद्वय राजन प्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले निवेदकको माग बमोजिम दाबी पुग्ने फैसला गरेको हो । 


२०७९ वैशाख ३० गते सम्पन्न उक्त निर्वाचनमा  जोशी कांग्रेसका वैकुण्ठनाथ न्यौपानेसँग झिनो मतान्तरले पराजित भएपछि पुनः मतगणनाको माग लिएर अदालत पुगेका थिए । 

स्थानीय तह निर्वाचनमा तनहुँको व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै २०७९ जेठ १२ गते उच्च अदालतमा रिट दिएका थिए। दीपक पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुन्। उनलाई नेकपा एमालेले समर्थन गरेको थियो।

कांग्रेसका वैकुण्ठनाथ न्यौपानेसँग २ सय ५२ मत अन्तरले पराजित जोशीले उच्च अदालत पोखरामा पुनः मतगणनाको माग गर्दै रिट निवेदन दिएका थिए। न्यौपानेले १२ हजार ७८ पाएका थिए भने र जोशीको पक्षमा ११ हजार ८ सय २६ मत देखिएको थियो।