देशभर ६ लाख ल्यान्डलाइन र मोबाइल ३ करोड ४८ लाख ५० हजार प्रयोगमा



काठमाडौँ । मोबाइल सेवाको विस्तारसँगै देशभर आधारभूत (फिक्स्ड) टेलिफोनको संख्या घट्दै गएको देखिएको छ । गत आर्थिक वर्षको असारसम्म फिक्स्ड वा ल्यान्डलाइन टेलिफोनको संख्या ८ लाख ३२ हजार रहेकोमा चालु आवको फागुनसम्म त्यो संख्या घटेर देशभर जम्मा ६ लाख ६ हजार प्रयोगमा रहेको आइतबार सार्वजनिक आर्थिक सर्वेक्षण २०८०/८१ ले देखाएको हो  ।

विगत आठ महिनाको अविधिमा फिक्स्ड टेलिफोनको संख्या २ लाख २६ हजारले घटेको आर्थिक सर्वेक्षणले देखाएको छ । मोबाइल फोनको संख्या भने आठ महिनामा ९ लाख २ हजारले बढेको देखिन्छ ।


सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तथ्यांकअनुसार २०८० फागुनसम्म ३ करोड ४८ लाख ५० हजार मोबाइल फोन प्रयोगमा रहेका छन् । गत आवको असारमा ३ करोड ३९ लाख ४८ मोबाइल फोन प्रयोगमा थिए ।

आर्थिक सर्वेक्षणले २०८० को फागुनसम्म देशभर कुल ३ करोड ५४ लाख ५९ हजार टेलिफोन (ल्यान्डलाइन + मोबाइल)  प्रयोगमा रहेको देखाएको छ । २०८० असारसम्म यो संख्या ३ करोड ४७ लाख ८३ हजार रहेको थियो । आर्थिक वर्ष २०७७/७८ को असारमा ३ करोड ६ लाख ७४ हजार मोबाइल फोन प्रयोगमा रहेको देखिन्छ भने त्यो बेला ७ लाख ८३ हजार ल्यान्डलाइन फोन प्रयोगमा थिए ।