कर्णाली । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका काममा तीव्रता दिन निर्देश दिएका छन् ।
मन्त्री श्रेष्ठले शुक्रबार कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालसहितको टोलीलाई आफ्नै कार्यकक्षमा बोलाएर दशौँ खेलकुद प्रतियोगिताबारे जानकारी दिने क्रममा उनले त्यस्तो निर्देशन दिएका हुन् ।
मन्त्री श्रेष्ठले आगामी मङ्सिरमा हुने खेलकुद प्रतियोगिता तोकिएकै मितिमा हुने र सोहीअनुसार तयारी गर्न निर्देशन दिएको सञ्ज्यालले जानकारी दिए ।
प्रतियोगिता आयोजक कर्णाली प्रदेशको उत्साह र पूर्वतयारीले धेरै खुसी लागेको भन्दै मन्त्री श्रेष्ठले अबको केही दिनमा स्थलगत अध्ययनको लागि मन्त्रालयका तर्फबाट टोली खटाइनेसमेत बताएको उनले जानकारी दिए ।
“दशौँ राष्ट्रिय खेलकुदको आयोजक कर्णाली प्रदेश भए पनि सफल बनाउन सबैले लाग्नुपर्छ, अबको केही दिनमा मन्त्रालयका तर्फबाट रिजल्ट आउने गरी कामको थालनी हुन्छ”, मन्त्री श्रेष्ठलाई उदृत गर्दै सञ्ज्यालले भने ।
छलफलमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सञ्ज्यालले प्रतियोगिताको आन्तरिक तयारी बलियो बनाइ सकेकाले तोकिएको मितिमा प्रतियोगिता हुने सुनिश्चितताका लागि आग्रह गरे ।
“हिजो खेल पूर्वाधारको अभाव देखाएर धेरै पटक कर्णालीले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको अवसर लिन सकिरहेको थिएन । अहिले कर्णाली हरेक हिसाबले सक्षम छ”, सदस्य सचिव सन्यालले भने, “प्रतियोगिता तोकिएको मितिमा हुन्छ भन्नेमा हामी त ढुक्क छौँ । सङ्घीय सरकार, राष्ट्रिय खेलकुद परिषद् र विभागीय मन्त्रालयले त्यो सुनिश्चिता गर्नुपर्छ ।”