थाईल्यान्डमा हिरासतमा रहेकी एक अभियानकर्मीको अनसनका क्रममा निधन



बीबीसी । राजसंस्थाको अपमान गरेको अभियोग लागेकी थाईल्यान्डकी एक अभियानकर्मीको अनसनका क्रममा हिरासतमा निधन भएको छ । नेटिपँ ‘बूङ्ग’सुनेसाङकोमको मुटुले ‘अचानक काम गर्न छोडेपछि’ मङ्गलबार बिहान उनको निधन भएको अधिकारीहरूले बताएका छन् ।

२८ वर्षीया सुनेसाङकोम युवा नेतृत्वको एउटा आन्दोलनकी हिस्सा थिइन् जुन आन्दोलनले राजसंस्थासम्बन्धी व्यवस्थामा पुनःसंरचनाको माग गरेको थियो । उनीमाथि विभिन्न सातवटा अभियोग लगाइएकोमा दुईवटा आरोप राजसंस्थाको अपमान गरेको विषयसँग सम्बन्धित थिए। उनी गत जनवरीको २६ तारिखदेखि हिरासतमा थिइन् ।


हिरासतमा लगिएको भोलिपल्ट उनले अनसन शुरू गरिन् । फेब्रुअरीको अन्त्यदेखि अनसनका क्रममा उनी पानी पिउन थालिन् भने अप्रिलदेखि उनले खाना खान थालेकी थिइन् । थाईल्यान्डको न्याय प्रणालीमा र राजसंस्थाको आलोचनालाई अपराध ठहर्याउनेसम्बन्धी एउटा बदनाम कानुनमा पुनःसंरचना गर्नुपर्ने माग सुनेसाङकोमले गर्दै आएकी थिइन् । शुरूमा उनलाई अदालतको अवहेलनासम्बन्धी अभियोगमा गिरफ्तार गरिएको थियो ।

तर राजसंस्थाको आलोचनासम्बन्धी मुद्दामा जमानत रद्द भएपछि सुनेसाङकोमको हिरासत अवधि लम्ब्याइयो । दोषी ठहर भएको अवस्थामा सुनेसाङकोमलाई १५ वर्षसम्मको जेलसजाय हुन सक्थ्यो । उनी एक न्यायाधीशकी छोरी पनि थिइन् । थाईल्यान्डमा राजसंस्थाको आलोचना गर्न नपाइने विषयमा संसारकै कठोरमध्येका कानुन चलनचल्तीमा छन् ।