जनताले अनुभूत गर्ने गरी नीति, कार्यक्रम र बजेट बनाउँछौँ: मुख्यमन्त्री अधिकारी



गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले जनताले सरकारको अनुभूति गर्ने गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने बताएका छन्।

कास्कीको मादी गाउँपालिका–७ मा निर्मित थाक समाज घरको आज उद्घाटन गर्दै उनले धेरै बोल्नेभन्दा पनि काम गरेर जनतालाई अनुभूति दिलाउने कोसिसमा आफू रहेको बताए। त्यसका लागि प्रदेश सरकारले तयारी गरिरहेको उनले जानकारी दिए।


उनले मादी गाउँपालिकालगायत स्थानीय तहको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे। उनले भने, ‘बाटो निर्माण भइरहको छ, यसलाई सिक्लेससम्म पु¥याउने कोसिस गर्नेछौँ, खानेपानीलगायत यहाँका समस्या समाधान समाधान गर्न सधैँ सरकारको सहयोग रहने छ।’

कार्यक्रममा गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री वेदबहादुर गुरुङले यही क्षेत्रको जनप्रतिनिधिको हिसाबले जनताले भोग्नुपरेका समस्या समाधानका लागि आफू क्रियाशील बनेको बताए।

त्यसअवसरमा समाजघर निर्माणमा सहयोग गर्ने व्यक्ति तथा जग्गादातालगायतलाई सम्मान गरिएको थियो।