![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
दमौली (तनहुँ) । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँमा आबद्ध साहित्यकार प्रत्येक महिनाको दोस्रो शनिबार एकठाउँमा भेला हुन्थे । आफूले रचना गरेका साहित्य वाचन गर्थे । यो शृङ्खला चलेको ३७ महिना भइसकेको थियो तर त्यहीँबेला चार वर्षअघि कोरोना महामारी फैलिएपछि यो शृङ्खला रोकियो ।
प्रतिष्ठानले चार वर्षअघि रोकिएको अभियान शनिबारदेखि पुनः सुरू गरेको छ । विगतमा झै अब प्रत्येक महिनाको दोस्रो शनिबार यो शृङ्खला निरन्तर सञ्चालन हुने प्रतिष्ठानका उपाध्यक्ष सङ्गम सापकोटाले जानकारी दिए । उनले भने, “कोभिडपछि रोकिएको शृङ्खला विविध कारणले सञ्चालन हुन सकेको थिएन, शनिबारदेखि अभियान सञ्चालन गरिएको छ, अब निरन्तर सञ्चालन गरिनेछ ।”
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
जिल्लाका फरक–फरक ठाउँमा पुगेर साहित्यकारले मुक्तक, कविता, गीत, हाइकु, गजललगायत रचना प्रस्तुत गर्ने गरेका छन् । सापकोटाले भने, “कार्यक्रम सधैँ एकैठाउँमा हुँदैन, फरक–फरक ठाउँ छनोट गरिन्छ । एकैठाउँमा भेला भएर साहित्यकारहरूले रचना वाचन गर्छन् ।”
३८ औँ शृङ्खलाअन्तर्गत शनिबार व्यास नगरपालिका–३ अनसनचौतारीमा भएको साहित्य वाचनमा डा लक्ष्मीकान्त चापागाईँ, काशीनाथ न्यौपाने, शङ्करराज नहर्की, तेजप्रसाद लामिछाने, सङ्गम सापकोटा, सागर उदासलगायतले रचना वाचन गरेका थिए ।
आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भएका कारण यहाँ साहित्यिक क्षेत्रमा सम्भावना भए पनि यसको संस्थागत विकास हुन नसकेको प्रतिष्ठानका अध्यक्ष गौकुमारी न्यौपानेले बताए ।
तनहुँमा साहित्यको क्षेत्रमा प्रचुर सम्भावना भए पनि सोचेजति विकास हुन नसकेको गण्डकी वाङ्मय प्रतिष्ठानका पूर्वअध्यक्ष सागर उदासको भनाइ छ । उनले भने, “पर्यटन र साहित्य दुवैमा प्रचुर सम्भावना छ तर जति काम गर्नपथ्र्यो हुन सकिरहेको छैन, राज्यस्तरबाट यसमा पहलकदमी लिनुपर्ने आवश्यकता छ ।”
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)