कोशी मन्त्रिपरिषद विस्तार : कुन मन्त्रालयमा को मन्त्री ?



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद्को विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले एमालेका तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री तथा माओवादीका दुई जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले एमालेका पञ्चकर्ण राई, लिलाबल्लभ अधिकारी र एकराज कार्कीलाई मन्त्री तथा सिर्जना राईलाई राज्यमन्त्री नियुक्त गरेका छन् । एमालेबाट राम राना यस अघि नै मन्त्री नियुक्त भईसकेका छन् ।


एमालेबाट मन्त्री बनेका रानाले अर्थ, राईले सामाजिक विकास, अधिकारीले आन्तरिक मामिला तथा कानून,र कार्कीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

त्यस्तै माओवादीबाट नारायण बुर्जामगर र राजेन्द्र कार्की मन्त्री नियुक्त भएका छन् भने बन्दना झाँगड राज्यमन्त्री भएकी छन् ।  यसअघि माओवादीका गणेश उप्रेती मन्त्री नियुक्त भएका थिए । 

माओवादीबाट उप्रेतीले भौतिक पूर्वाधार, मगरलाई पर्यटन, वन तथा उद्योग र कार्कीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिईएको छ । एमालेकी सिर्जनालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्री र झाँगडलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी दिईएको छ ।