सडक निर्माणमा भ्रष्टाचारः उपभोक्ता समितिका अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाहीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

चंखेली–३ स्थित सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनियर रुद्र बहादुर वली, सिस्टेन्ट सव–इन्जिनियर हर्कधन बुढा, उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाया, सचिव धनपति ऐडी, कोषाध्यक्ष पुनी ऐडी, तत्कालीन वडा अध्यक्ष सालिग्राम ऐडीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।


उनीहरुले सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा निर्माणस्थलको वास्तविक तथ्य बँग्याई भए गरेको कार्यभन्दा बढी मूल्याङ्‍कन गरी नापी किताबमा चढाई हस्ताक्षर गरी निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साईटमा नगरेरनगराएको परिमाणको झुट्टा बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन तयार तथा स्वीकृत गरी भ्रष्टाचार गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।