वाणिज्य दूतावासमा आक्रमणप्रति इरानको प्रतिक्रिया ‘अपरिहार्य’– हिजबुल्लाह प्रमुख



दुई जनरलको मृत्यु हुनेगरी इजराइलले यसै साता दमास्कसमा आफ्नो वाणिज्य दूतावासलाई ध्वस्त पारेपछि इरानले अनिवार्यरूपमा बदला लिने लेबनानको इरान समर्थित हिजबुल्लाह आन्दोलनका नेताले चेतावनी दिएका छन् ।

“निश्चिन्त हुनुहोस्, इरानको दमास्कस वाणिज्य दूतावसालाई निशाना बनाउनेमाथि इरानको प्रतिक्रिया अपरिहार्य छ”, इरान र उसका सहयोगीहरूद्वारा आयोजित प्यालेस्टिन समर्थक जुलुसहरूको वार्षिक दिन जेरुसेलम दिवसका अवसरमा हसन नसरल्लाहले टेलिभिजनमा भने ।


सिरियाको राजधानी दमास्कसमा सोमबार भएको हमलामा इरानी दूतावासको पाँच तल्ले कन्सुलर भवन ध्वस्त भएको थियो र दुई जनरलसहित सात इरानी रिभोल्युसनरी गार्ड मारिएका थिए । नसरल्लाहले इरानी वाणिज्य दूतावासमा भएको हमलालाई ‘निर्णायक विन्दु’ भनेका छन् ।

अक्टोबरमा गाजा युद्ध सुरु भएपछि इजराइलसँग नसरल्लाहका लडाकूहरूले इजराइलसँग करिब दैनिक सीमापारबाट मुठभेड गरिरहेका छन् । उनले भने,“हिजबुल्लाहलाई युद्धको डर छैन र इजराइलसँग कुनै पनि युद्धका लागि सम्पूर्णरूपमा तयार छ ।”

इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीले वाणिज्य दूतावासमा हमलाका लागि इजराइललाई ‘दण्डित गरिने छ’ भने ।

इजराइलले हमलाप्रति कुनै टिप्पणी गरेको छैन । यद्यपि विश्लेषकहरूले यसलाई गाजा क्षेत्रमा इजराइल–हमास युद्धभन्दा पर व्यापक युद्ध सुरु गर्ने जोखिम उठाउने इरान र उसका क्षेत्रीय प्रतिनिधिहरूविरुद्धको अभियानको वृद्धिका रूपमा हेरेका छन् ।

इरानको जवाफी कारवाहीको धम्कीहरूपछि आफ्नो सुरक्षा बलियो बनाइरहेको र लडाकू एकाइहरूको छुट्टी रोकिरहेको इजराइलले बिहीबार बताएको थियो ।