पर्सामा सवारीसाधनको जरिवानाबाट उठ्यो डेढ करोड राजस्व



वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा सवारी साधनको जरिवानाबापत डेढ करोड रूपैयाँभन्दा धेरै राजस्व संकलन गरेको छ।

कार्यालयले साउनदेखि फागुन मसान्तसम्मको अवधिमा ट्राफिक नियम उल्लंघन गरेका १५ हजार पाँचसय ९१ सवारीसाधनबाट सो राजस्व संकलन गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भाष्कर खतिवडाले आठ महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनबाट एक करोड ५७ लाख ६९ हजार छसय छ रूपैयाँ राजस्व संकलन गरेको बताए।


‘गत आवको तुलनामा चालु आवको आठ महिनामा जरिवानाबापतको राजस्वको रकम केही घटेको छ’, उनले भने, ‘अहिले नयाँ टीभीआरएस सिस्टम लागु गरेका छौँ। विगतमा अधिकतम जरिवानाबाट सुरुवात गर्ने गरिन्थ्यो। तर, अहिले न्यूनतमबाट जरिवाना गर्दा केही राजस्व घटेको हो।’ ट्राफिक प्रहरीले जनचेतनाको कार्यक्रमलाई तीव्रता दिँदा पनि ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकको सङ्ख्यामा केही कमी आएको उनको भनाइ छ।

कार्यालयका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने ट्रकको सङ्ख्या छ हजार चार सय २५ रहेको छ। ट्रकबाट ८८ लाख १९ हजार दुई रूपैयाँ राजस्व संकलन भएको छ। कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने एक सय ३२ बस कारबाहीमा परेका छन्। कारबाहीमा पर्ने बसबाट एक लाख ३० हजार पाँचसय रूपैयाँ राजस्व संकलन भएको छ। त्यस्तै गरी ट्राफिक नियम उल्लंघन गर्ने कार/जीप/भ्यानको संख्या एक हजार तीन सय २४ जना रहेको छ।

ती सवारीसाधनबाट १२ लाख दुई हजार पाँचसय पाँच रूपैयाँ रकम राजस्व संकलन भएको छ। त्यस्तै गरी ट्राफिक नियम उल्लंघन गर्ने दुई पाङग्रे सवारीसाधनको सङ्ख्या सात हजार १२ रहेको छ। ती सवारीसाधनबाट ४९ लाख ८० हजार ५९ रकम राजस्व संकलन भएको छ। कार्यालयले गत आव भरिमा भने ट्राफिक नियम उल्लंघन गर्ने ३५ हजार पाँच सय ३४ सवारीसाधनलाई कारबाही गरेर रु तीन करोड ४२ लाख ६५ हजार रकम राजस्व संकलन गरेको थियो।