गौर हत्याकाण्डविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश



काठमाडौं । सर्वोच्च अदालतले गौर हत्याकाण्डसम्बन्धी मु्द्दामा कारण देखाउ आदेश जारी गरेको छ। बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कारण देखाउ आदेश जारी गरेको हो।

गौर नरसंहारको अनुसन्धान गरी दोषीमाथि कानुनी कारवाहीको माग गर्दै त्रिभुवन साहले २१ जेठ २०८० सालमा सर्वोच्चमा रिट दायर गरेका थिए।


जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिलको कार्यालय गौरसमेतलाई रिटमा विपक्षी बनाइएको छ। रिट निवेदनमा उत्प्रेषणको आदेश माग दावी  गरिएको छ।

उक्त मुद्दा तीन पटक हेर्न नभ्याइने, एक पटक बेन्च बस्न नभ्याइनेमा पर्दै बुधबार भने कारण देखाऊ आदेश भएको हो । ०६४ चैत २७ गते तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबिचको झडपमा २७ जना माओवादी कार्यकर्ता मृत्यु भएको थियो । जसलाई गौर हत्याकाण्डले चिनिन्छ ।  

उक्त हत्याकाण्डमा उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादवसमेत संलग्न रहेको आरोप लाग्दै आएको छ ।