खानेपानी बाकेर खाने दिनको अन्त्य हुन्छः खानेपानीमन्त्री राई



धनकुटा। खानेपानीमन्त्री राजेन्द्रकुमार राईले नेपालका दूरदराज र ग्रामीण क्षेत्रका महिलाले थाप्लो र कम्मरमा पानी बोकेर खानुपर्ने बाध्यताको अन्त्य गर्ने बताएका छन्।

साँगुरीगढी र चौबीसे गाउँपालिकामा भएको विभिन्न कार्यक्रममा सहभागी भएका मन्त्री राईले आज ती कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको खानेपानी समस्या समधान गर्ने बताएका हुन्।


‘अब महिलाहरुले थाप्लो र कम्मरमा पानीको भाँडा बोक्ने दिनको अन्त्य हुन्छ’, उनले भने, ‘यसका लागि मैले योजना बनाउन निर्देशन दिइसकेको छु।’ हालसम्म मन्त्रालयमा १० हजारभन्दा बढी खानेपानी समस्या समाधानका लागि मागपत्र रहेको र ती सबै समस्यालाई क्रमशः समाधान गरिने उनको भनाइ थियो। मन्त्री राईले धनकुटाको खानेपानी समस्या समधान आफ्नो प्राथमिकतामा रहेको जानकारी दिए।

मन्त्री राईलाई आज बिहान साँगुरीगढी वडा नं ५ को डाँडाबजारमा रहेको भानु उच्च माविले बधाई तथा सम्मान गरेको थियो। सो कार्यक्रममा राईले सो वडाको डाँडाबजारमा रहेको खानेपानी व्यवस्थापनका लागि रु एक करोड बजेट उपलब्ध गराउने बाचा गरे।

चालु आर्थिक वर्षमा बजेट उपलब्ध गराउन नसके पनि आगामी आर्थिक वर्षमा बजेट उपलब्ध गराउने मन्त्री राईले जानकारी दिए। त्यस्तै मन्त्री राई चौबीसे गाउँपालिका र नेपाल कम्युनिष्ट पार्टी (एमाले) चौबीसे गाउँ कमिटीले गरेको बधाई तथा सम्मान कार्यक्रममा सहभागी भएका थिए।

मन्त्री राईले आजै संघीय सरकारको नमूना विद्यालय कार्यक्रम र चौबिसे गाउँपालिकाको सहयोगमा रु एक करोड ९७ लाख लागतमा नवनिर्मित पुण्य माविको १२ कोठे भवन उद्घाटन गरे।