६० वटा सिँचाइ आयोजनाको जिम्मेवारी एक प्राविधिकको काँधमा



म्याग्दी । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले चालु आर्थिक वर्षमा ६० वटा सिँचाइका योजना सञ्चालन गरेको छ। ती सबै योजनाको प्राविधिक जिम्मेवारी एकजना सब इन्जिनियरलाई तोकिएको छ।

सर्वेक्षण, लागत अनुमान तयार, नापजाँच, अनुगमन र मूल्यांकन गर्ने जिम्मेवारी सब इन्जिनियर अञ्जन खत्रीलाई तोकिएको हो।म्याग्दी भौगोलिक रुपमा विकट र दुर्गम हिमाली जिल्ला हो।


‘नमिलेको भूगोल र अधिकांश कच्ची सडक भएको म्याग्दीका सबै सिँचाइ योजनाको जिम्मेवारी मेरै काँधमा छ,’ इन्जिनियर खत्रीले भने, ‘सबै काम एक्लै गर्नुपर्दा योजना कार्यान्वयनमा समस्या छ।’ 

सो कार्यालयको सिँचाइतर्फ एकजना इन्जिनियर, एकजना छैटौँ तहका र एकजना पाचौँ तहका सब इन्जिनियरको दरबन्दी भएकोमा अधिकृत छैटौँ तहका खत्री बाहेक दुई वटा दरबन्दी रिक्त छ ।

प्राविधिक जनशक्तिको कमी र योजनाको सङ्ख्या धेरै हुँदा कार्यान्वयन र अनुगमनमा समस्या भएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय प्रमुख झलकमोहन ओझाले बताए।

एकजना प्राविधिकको भरमा ६० वटा सिँचाइका योजना कार्यान्वयन गर्नुपर्दा समस्या भएको प्रमुख ओझाको भनाइ छ। उनका अनुसार एक्लै प्राविधिक भए पनि राति, साँझ, बिहानको समयमा काम गरेर सिँचाइका ६० मध्ये ५० वटा योजनाको सम्झौता भइ कार्यान्वयनको चरणमा छन्। 

चालु आर्थिक वर्षमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी एक सय २० वटा योजनाका लागि पुँजीगततर्फ १६ करोड ६८ लाख १० हजार रूपैयाँ बजेट विनियोजन भएको थियो। चैत दोस्रो सातासम्म १४ प्रतिशत अर्थात दुई करोड ३० लाख रूपैयाँ खर्च भएको लेखा शाखाका प्रमुख नारायण सुवेदीले जानकारी दिए।

९० वटा योजना सम्झौता भएकोमा १५ वटा योजना निर्माण सम्पन्न भएका छन्। विकास योजनालाई गुणस्तरीय र प्रभावकारी रुपमा कार्यान्वयन गर्न टुक्रे योजना कटौती गरेर ठूला आयोजनामा बजेट केन्द्रित गर्न नीतिगत सुधार गर्नुपर्ने गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए।