सरकार ऋणमा डुबेपनि किसानलाई ऋणमा डुब्न दिन हुँदैनः कृषिमन्त्री साह



काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी साहले सरकार ऋणमा डुबेपनि किसानलाई ऋणमा डुब्न दिन नहुने बताएकी छन्।

देशभक्त युवा नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री साहले किसानहरुलाई कुनै पनि हालतमा मर्कामा पर्न दिन नहुने र सरकार ऋणमा डुबेपनि किसानलाई ऋणमा डुब्न दिन नहुने बताएकी हुन्। ऋण खोजेरै भएपनि दुग्ध किसानको बक्यौक्ता भुक्तानीका लागि पहल गरेको उनको भनाइ छ। सरकारले अगामी बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिने उनले बताइन्।


त्यस्तै मन्त्री साहले एक लाख हेक्टर जमिनमा चैते धान उत्पादन गर्न सके धानको आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने भन्दै सरकारले आवश्यक योजना बनाइरहेको जानकारी दिइन्। उनले विदेश पलायन हुनबाट रोकेर देशमै रोजगारी सिर्जना गर्नका लागि योजना बनाउने काममा लागेको र त्यसले मुलुक आत्मनिर्भर हुन मद्धत पुग्ने विश्वास व्यक्त गरिन्।