सन्दीप लामिछाने प्रकरण: गौशाला–२६ को जन्मदर्ताको प्रमाणपत्र झिकाउन आदेश



काठमाडौं। उच्च अदालत पाटनले गौशाला–२६ को जन्मदर्ताको प्रमाणित प्रतिलिपि र उनले प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नको लागि दिएको निवेदनको सक्कल प्रति माग गरेको छ।

सन्दीप लामिछाने बलात्कार सम्बन्धि मुद्धामा न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले गौशाला–२६ का जन्मदर्ता प्रमाणपत्र मगाउन आदेश गरेको हो।


गौशाला–२६ को बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका सन्दीपलाई अधिकतम सजायको माग गर्दै उच्च सरकारी वकिलको कार्यालयले र आफूले सफाइ पाउनुपर्ने जिकिर गर्दै सन्दीपले दिएका पुनरावेदन मुद्दामा उच्च अदालत पाटनले आजदेखि सुनुवाइ थालेको हो।

गएको पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो। पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो। तर जिल्ला अदालतले लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो। त्यसअघि सन्दीप लामिछानेले पनि जिल्ला अदालतले आफूलाई बलात्कार मुद्दामा दोषी ठहर गरेकोविरुद्धमा उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए।

उच्च अदालत पाटनले दुवै पक्षको पुनरावेदनलाई एउटै मुद्दामा राखेर सुनुवाई थालेको छ। मुद्धाको पुनरावेदन प्रक्रियामा रहेकाले सन्दीपले हाल थुना बाहिर बस्ने सुविधा पाएका छन्।