रूस जान श्रम स्वीकृति किन दिइयो, जवाफ चाहिन्छः कांग्रेस सांसद पौडेल



काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले रुसमा जान नेपालीलाई श्रम स्वीकृति प्रदान गरिएकोबारे सरकारसँग जवाफ माग गरेका छन् ।

आज बसेको संसद् बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले युक्रेन र रुसबीच लामो समयदेखि द्धन्द्ध चलिरहेको जान्दाजान्दै सरकारले श्रम स्कीकृति दिएको भन्दै जवाफ मागेका हुन् । उनले रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फर्काउनको साटो फेरि श्रम स्वीकृति खुलाएको भन्दै आपत्ति जनाएका हुन् ।


‘नेपालीहरु रुसी सेनामा छन् भन्ने सरकारलाई थाहा छ । तर कति संख्यामा छन् ? उनको अवस्था के छ ? आफन्तहरु कसरी बासिरहेका छन् भन्नेमा सरकार बेखबर छ’ उनले भने, ‘बेखबर मात्र होइन, सरकारले खोजी गर्ने चेष्टा नै गरेको छैन ।’

नेपालीहरुको उद्दारका लागि सरकारले के गरिरहेको छ भन्ने प्रश्न गर्दै कांग्रेस संसद पौडेलले भने, ‘सरकारले गर्न सक्दैन भने मानवअधिकारवादी संस्था, रेडक्रस, राष्ट्रसंघलाई आग्रह गर्न सक्छ । नेपाली ल्याउन सरकारको जुन ढंगको पहल हुनुपर्ने हो, त्यो भएको छैन ।’

नेपालका अर्थमन्त्रीसँग कुरा गर्दा रुसी राजदूतले दिएको जवाफ कूटनीतिक मर्यादामा पर्छ कि पर्दैन भनेर उनले प्रश्न गरे । ‘अर्थमन्त्रीसँग राजदूतले जवाफ दिनुभयो तपाईंका नागरिक आधिकारिक रूपमा हाम्रो सेनामा गएको होइन, ती नागरिक फर्किन पनि चाहँदैनन् । यो कूटनीतिक मर्यादा हो कि होइन ?,’ पौडेलले प्रश्न गरे ।