रुसमा उच्च बाढीको जोखिम, दशौं हजार मानिस स्थानान्तरण



रुसकोे ओरेनबर्ग सहरमा शुक्रबार युराल नदीको सतह नयाँ रेकर्ड उचाइमा पुगेपछि बाढीका कारण रुस र कजाकिस्तानका दशौँ हजार मानिसलाई स्थानान्तरण गरिएको अधिकारीहरूले बताएका छन् ।

तीव्र गतिमा बढिरहेको तापक्रमले हिउँ र बरफ पग्लिँदा तथा भारी वर्षाका कारण रूस र कजाकिस्तान पार गर्ने धेरै जसो नदीहरूले खतराको सतह पार गरेका छन् ।


टियूमेन क्षेत्रका अधिकारीहरूका अनुसार पश्चिमी साइबेरियामा इशिम नदी पनि खतरनाक स्तरमा पुगेको छ । अधिकारीहरूले इशिम र टोबोल नदी अप्रिल २३–२५ मा  उच्चस्तरमा पुग्ने अनुमान गरेका छन् ।

अधिकारीहरूका अनुसार ओरनबर्गमा युराल नदी ११ दशशमलव २९ मिटर (३७ फिट) पुगेको छ । यो निर्धारित  खतराको स्तरभन्दा दुई मिटर माथि हो । सहरका केही भागमा पानीमाथि घरहरूको छत मात्र देख्न सकिन्छ ।

क्षेत्रीय अधिकारी सर्गेई बालिकिनले आरआइए नोभोस्ती राज्य समाचार एजेन्सीलाई  ओरेनबर्गमा शुक्रबार वा शनिबार मात्र बाढी आउने जानकारी दिनुभयो । अधिकारीहरूका अनुसार चार लाखभन्दा बढी जनसङ्ख्यामध्ये १० हजार सात सयभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीले करिब ११ हजार सात सय घर डुबेका छन् ।

बाढीको जोखिमका करण पूर्वमा कुर्गान र तोम्स्क क्षेत्रका धेरै गाउँलाई पनि खाली गरिएको छ । रुस र कजाकिस्तानमा करिब एक लाख मानिसले बाढीका कारण घर छाडेको अनुमान गरिएको छ ।

बाँध फुटेपछि समस्याग्रस्त ओर्स्कमा अधिकारीहरूले सुधार भएको बताएका छन् । सहरका आक्रोशित बासिन्दाहरूले सङ्कटको व्यवस्थापनप्रति चिन्ता व्यक्त गर्दै दुर्लभ प्रदर्शन गरेको बताइएको छ ।

बाढी र जलवायु परिवर्तनको कुनै प्रत्यक्ष सम्बन्ध भएको नपाइए पनि विज्ञहरूले उच्च तापक्रमले भएको भीषण वर्षाले बाढी निम्त्याएको बताएका छन् ।