भारदहमा १० करोड लागतमा एकीकृत हाटबजार निर्माण हुँदै



राजविराज । ग्रामीण क्षेत्रमा उत्पादित तरकारी तथा फलफूल बिक्री वितरण सहज रुपले गर्ने वातावरण बनाउन एकीकृत हाटबजार निर्माण भइरहेको छ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहमा एकीकृत कृषि हाटबजार निर्माण थालिएको हो। स्थानीय बिपी मावि भारदहले १५ कट्ठा जग्गा व्यवस्थापन गराएपछि हाटबजार निर्माणले तीव्रता पाएको वडाध्यक्ष सुरेन्द्र मण्डलले बताए। 
    
यसअघि खुला चौर वा सडक किनारमा बजार लाग्ने गरेकाले यसलाई व्यवस्थित बनाउँदै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले एकीकृत कृषि हाटबजार निर्माण थालिएको उनको भनाइ छ।


करिब पाँचसय व्यापारी अटाउन सक्ने क्षमतासहित निर्माण भइरहेको हाटबजारमा ५० मिटर लम्बाइ र ४० मिटर चौडाइको हाटबजार स्थल निर्माण भइरहेको स्थानीय जनमत पार्टीका नेता श्यामसुन्दर मण्डलले बताए।

‘ग्रामीण क्षेत्रलाई बजारीकरण गरी यहाँको विकास गर्न एकीकृत बजार निर्माण थालेका छौँ’, उनले भने, ‘यसले सबैलाई सहयोग पुग्नेछ। यहाँ खाद्यान, लत्ताकपडा, माछा, मासुसहित स्थानीय उत्पादन भएका सामग्री राखिनेछन्।’