‘फरार’ सूचीमा रहेका माओवादी नेता कालीबहादुर खाम पक्राउ



काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व कमाण्डर कालीबहादुर खाम पक्राउ परेका छन् ।

खाम मंगलबार काठमाडौंको ठमेलबाट पक्राउ परेका हुन् । व्यक्ति हत्याको अभियोग लागेका उनी १५ वर्षदेखि फरार सूचीमा रहेका थिए । उनीमाथि काठमाडौंको कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या गरेको आरोप रहेको छ ।


२०६५ मा व्यापारी रामहरि श्रेष्ठलाई नियन्त्रण लिएर हत्या गरेको अभियोग खाममाथि छ । १५ वैशाख २०६५ मा श्रेष्ठलाई कोटेश्वरबाट नियन्त्रणमा लिएर चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा पुर्‍याइएको थियो ।

श्रेष्ठको शव २८ वैशाखमा नारायणी नदि किरानामा भेटिएको थियो । आफ्ना श्रीमानको हत्या भएको भन्दै रामहरिकी श्रीमती रमिला श्रेष्ठले ४ जनाविरुद्ध जाहेरी दर्ता गरेकी थिईन् । प्रहरीमा जाहेरी परेपछि उनी १५ वर्षदेखि लुकीछिपी बस्दै आएका थिए ।

खामलाई रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ । माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर उनी माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन् ।

सो विभागमा पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा प्रमुख रहेका छन् । सो प्रकरणमा यसअघि पक्राउ परेका लडाकु कमाण्डर गोविन्दबहादुर बटाला पछि रिहा भएका थिए ।