प्रधानमन्त्री प्रचण्डसँग भेटेपछि ओलीले भने : कांग्रेसले सदन चल्न दिएन, अधिवेशन अन्त्य हुन्छ



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सदन चल्न नदिएकोले अब अधिवेशन अन्त्य हुने बताएका छन् । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन्।

सदन के विजनेस नपाएर अन्त्य हुन लागेको हो ? भनेर पत्रकारले राखेको जिज्ञासामा उनले भने,‘होईन, कांग्रेसले चल्न नदिएर हो । अब अधिवेशन अन्त्य हुन्छ, फेरि अर्को सुरू हुन्छ यस्तै हो ।’ प्रधानमन्त्री दाहाल भेट्न ओली विदेश विभागकी सदस्यसमेत रहेकी पूर्वराजदूत अञ्जान शाक्यसहित गएका थिए ।


पछिल्लो समय नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम मुछिएको र ठगीमा उनको संलग्नता रहेको प्रमाण छ भन्दै सदन अवरोध गर्दै आएको छ । कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राखेको छ । यो अडानबाट कांग्रेस ब्याक भएको छैन् ।