नाउपाले पायो सुदूरपश्चिमकाे मुख्यमन्त्री



काठमाडौं । प्रदेश सरकार जोगाउने र भत्काउन निर्णायक बनेको नागरिक उन्मुक्ति पार्टीले शुक्रबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएको छ ।

विश्वासको मत पाउन नसकेपछि कमलबहादुर शाहले मुख्यम्नत्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नाजिर मियाले वैशाख २ गतेसम्म संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमत जुटाएर सरकारमा दावी पेश गर्न आह्वान गरेका थिए । सत्ता गठबन्धनले प्रदेश प्रमुखले दिएको समयभित्रै नयाँ सरकारका लागि दाबी पेश गर्न लागेका हुन् ।


केन्द्रमा बनेको नयाँ गठबन्धनमा जुटको भद्र सहमति अनुसार सुदूरको मुख्यमन्त्री नाउपाको भागमा परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केप शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेता र नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच भएको सहमति अनुसार सुदूरमा मुख्यमन्त्री पाएको हो ।

मुख्यमन्त्री एक मन्त्री पाएको नाउपाले कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ । यसअघि संसदीय दलका नेता रहेका घनश्याम चौधरीले पार्टीको निर्देशन नमानेको भन्दै दलको नेताबाट हटाएर रञ्जिताले गत साता कैलाशलाई दलको नेता तोकेकी थिईन् ।

कैलास गत वर्ष वैशाखमा शाह नेतृत्वको सरकारमा राज्यमन्त्री नियुक्त भएका थिए । तर, केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि पूरानै गठबन्धनमा रहेन कि नयाँमा जाने भन्नेबारे विवाद हुँदा फागुन २५ गते उनलाई फिर्ता बोलाईएको थियो । उनको ठाउँमा नाउपाका संरक्षकसमेत रहेका रेशमलाल चौधरीले इन्दिरा गिरीलाई राज्यमन्त्री बनाएका थिए ।

श्रीमान श्रीमती रहेका रेशम र रञ्जिताबीच सरकारमा रहनेकी बाहिरिने भन्ने विषयमा लामो समयदेखि टसल रहँदा उनी त्यसको मारमा परेका थिए । रञ्जिता एमाले नेतृत्वको नयाँ गठबन्धनमा जाने पक्षमा थिईन् भने रेशम कांग्रेसलाई छाड्न नहुने पक्षमा थिए ।

तर, बुधबार नाउपाको कैलालीमा बसेको बैठकले मुख्यमन्त्री पाए सरकारमा जाने निर्णय गरेको थियो ।