दरबार जत्रो जुद्धोदय स्कुलको करौडौं भाडा हिनामिना भईरहेको छ, छानबिन होस्: सांसद पन्त



काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले काठमाडौंको जुद्धोदय माविको करोडौंको भाडा हिनामिना भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले स्कुलको करोडौंको भाडाबारे सरकार, अख्तियार र काठमाडौं महानगरला पनि पटक पटक छानबिन गर्न आग्रह गरेको स्मरण गराउँदै पुनः ध्यानाकर्षण गराएका हुन् ।


उनले भने ‘ठमेलमा ठुलो दरबार जत्रो जुद्धोदय स्कुल थियो जहाँ मैले पढेको थिएँ । त्यो बिल्डिङ गयो, त्यसको ठाउँमा नयाँ बिल्डिङ बनायो, कमिसन र ठेक्कामा त्यहाँको हेडमास्टरले बदमासी गरेर अहिले सानो कुनामा स्कुल थन्किएको छ । महिनाको करोडौँको भाडा कसले खाइरहेको छ पत्तो छैन । त्यसको छानबिन होस भनेर महानगरपालिकामा पनि निवेदन दिइयो, तर छानबिन भएको छैन । त्यसैले म काठमाडौँ महानगरपालिका, शिक्षा मन्त्रालय, उपत्यका र देशभरिका शैक्षिक संस्थाको जग्गा जसरी लुट भएको छ त्यसको बारेमा गम्भीरतापूर्वक छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गर्दछु ।’