तीन चरणमा लिफ्टिङ गरी मानुङकोटमा पानी पुर्‍याइँदै



तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ । सोही वडामा पर्ने पासर्दीस्थित खानेपानी मुहानबाट तीन चरणमा लिफ्टिङ गरी पानी लैजाने तयारी गरिएको हो ।

मुहानबाट करिब पाँच सय मिटर उचाइमा लिफ्टिङ गरी मानुङकोटमा पानी पुर्‍याउन लागिएको इन्जिनियर वीरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार मुहानमा निर्माण गरिएको इन्टेकबाट एक लाख लिटर क्षमताका दुई र ३० हजार लिटर क्षमताका दुई रिर्जभ ट्याङ्की निर्माण गरिनेछन् ।


इन्जिनियर वीरेन्द्र थापाका अनुसार इन्टेक नजिक एक लाख लिटर, बीचमा तीस÷तीस हजार लिटरका दरले दुई र मानुङकोटमा एक लाख लिटर क्षमताको रिजर्भ टयाङ्की निर्माण गरिनेछ । “ट्याङ्की निर्माणपश्चात् सङ्कलित पानी लिफ्टिङमार्फत लगिनेछ”, उनले भने, “करिब दुई किलोमिटर दूरीमा जिआई पाइपलाइन विछ्याइनेछ ।”

तीस हजार लिटर क्षमताको एउटा रिजर्भ ट्याङकी निर्माण सम्पन्न भइसकेको थापाले जानकारी दिए । एक लाख लिटरको ट्याङकीका लागि बेस निर्माण भइरहेको छ । उनका अनुसार हालसम्म योजनाको ४० प्रतिशत भौतिक प्रगति पुगेको छ ।

पछिल्लो समय चर्चामा आएको पर्यटकीयस्थल मानुङकोट आन्तरिक पर्यटकहरुको गन्तव्यस्थल बन्दै गएको छ । पानीको चरम अभाव रहेकामा शुद्ध पानीको पहुँच पुगेपछि यस क्षेत्रको मुहारमा आमूल परिवर्तन आउने विश्वास गरिएको व्यास–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । निर्माणधीन योजनाको कार्य समयमै सम्पन्न गराउन समयसमयमा अनुगमनलाई तीव्रता दिँदै आइएको नगरपालिकाले जनाएको छ ।

सङ्घीय सरकारबाट पहिलो चरणअन्तर्गत चालु आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरेपछि योजनाको काम अघि बढेको हो । समपूरक योजनाअन्तर्गत उक्त योजनालाई प्राथमिकतामा राखेर मानुङकोटमा खानेपानी पुर्‍याउन लागिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनका अनुसार दोस्रो चरणका लागि पुनः सङ्घीय सरकारमा बजेट माग गरी पठाइसकिएको छ ।

पानीको चर्को समस्याका कारण सुविधा खोज्दै बसाइँसराइमा गएका स्थानीयलाई यही फर्काउने योजना नगरपालिकाको रहेको नगरप्रमुख न्यौपानेले बताए । विसं २०८१ असार मसान्तभित्र सम्पन्न गर्ने गरी लाहुरे काइला बिल्डर्सले योजना निर्माणको जिम्मा पाएको छ । पानीको मूल दर्ता रहे पनि केही स्थानीय व्यक्तिको विवादका कारण निर्माण प्रभावित भएको निर्माण कम्पनीका प्रोपाइटर विज्ञान श्रेष्ठले बताए । उनका अनुसार निर्माणस्थलमा दैनिक १२ जना कामदारले काम गरिरहेका छन् ।

मानुङकोटको महत्व

मानुङकोट डाँडाबाटै कुहिरोको उत्पत्ति भएको किंवदन्ती रहेको पाइन्छ । महर्षि वेद व्यासकी माता मात्स्यगन्धासँग महर्षि परासर प्रेममा थिए । मत्स्यगन्धासँगको प्रेमलीला अरूले नदेखून् भनेर महर्षि परासरले कुहिरोको उत्पत्ति गराएको किंबदन्ती रहेको स्थानीय बताउँछन् ।

मानुङकोटबाट पूर्वतर्फ दमौली बजारका साथै पश्चिमतर्फ गुणादी, उत्तरतर्फ मादी नदी, साँगेखोला र दक्षिणतर्फ सेती नदी छर्लङ्ग देखिन्छ । यसका साथै रमणीय हरियाली वनजङ्गल देखिन्छन् । विगतमा घण्टौँ लगाएर पानी ल्याउनुपर्ने बाध्यता भएपछि यहाँका स्थानीय बसाइँ सरी अन्यत्र गएपछि यो बस्ती रित्तिँदै जान थालेको थियो ।

पानी सहज हुने स्थानतर्फ झरेका स्थानीयहरु पछिल्ला समय पर्यटक आगमन बढ्न थालेपछि पुनः फर्किन थालेका छन् । करिब पाँच वर्षयता मानुङकोट पर्यटकीयस्थलका रूपमा विकसित हुँदै गएको छ । यहाँ केही सुविधासम्पन्न होटलहरु बन्ने क्रम बढेको छ । पानीको अभावका कारण बजारबाट किनेर व्यवसाय सञ्चालन गरिरहेको होटल व्यवसायी चुडामणि दाहालले बताए । उनका अनुसार यहाँबाट देखिने कुहिरो, हिमशृङ्खला र सूर्योदय पर्यटकको आकर्षणका दृश्य हुन् ।

“हिउँद सुरु भएसँगै कुहिरोले सदरमुकाम दमौली बजारलाई छोप्छ । घाम उदाउन लागेसँगै कुहिरो विस्तारै फाट्ने गर्दछ र दमौली बजार छर्लङ्ग देखिन्छ”, दाहालले भने । उनका अनुसार उक्त स्थानबाट हिमशृङ्खला र डाँडाबाट देखिने चारैतिरको सुन्दरता हेर्नका लागि पर्यटक लालायित हुने गर्दछन् । यहाँबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।