जुफाल विमानस्थल मर्मत अन्तिम चरणमा



डोल्पा । हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थल मर्मतको काम ८५ प्रतिशत सकिएको छ ।

गत फागुन १६ गतेदेखि बन्द भएको विमानस्थलको धावनमार्ग सम्याउनेलगायत गरेर ८५ प्रतिशत काम सकिएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनीयर वीरप्रसाद शाहीले जानकारी दिए । मर्मतका लागि बन्द भएको ३८ दिनमा काम अन्तिम चरणमा पुगेकाले अब ढिलामा एक साताभित्रै सबै काम सम्पन्न हुने शाहीले बताए ।


“डोल्पावासीका लागि यातायातको प्रमुख एवं भरपर्दो साधन हवाई यातायात नै भएकाले अहोरात्र काम भइरहेको छ, त्यसमा पनि स्थानीय युवा व्यवसायीको सक्रियताका कारण पनि काम छिटो भयो”, शाहीले भने । सकेसम्म वैशाख १ गतेभित्रै हवाई सेवा सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

निर्माणको जिम्मा आजीवन तामाङ मरिन जेभी धादिङले मूल्य अभिवृद्धि करसहित रु छ करोडमा लिएको छ । विमानस्थलको धावनमार्ग कतै उठेको कतै बसेको र केही ठाउँमा चिरा परेर भासिएपछि एक सय ८५ मिटर स्तरोन्नति गरिएको हो । धानवमार्ग जीर्ण भएकै कारण सरकारी तथा निजी एयरलाइन्स कम्पनीले पनि पटक–पटक उडान गर्न नसकिने बताउँदै आएका थिए ।

विमानस्थल मर्मतको काम सकिएपछि सहजरूपमा हवाईजहाज आवातजावत गर्न सकिने नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ ।