खोटाङमा सञ्चालित बृहत् स्वास्थ्य शिविरबाट छ हजार लाभान्वित



खोटाङ । खोटाङ सेवा समाजले आयोजना गरेको वृहत स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ । ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ नाराका साथ जिल्लाका विभिन्न ११ स्थानमा आयोजित शिविरबाट ६ हजार  ६३८ जना लाभान्वित भएको समाजले जनाएको छ ।

विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीको टोलीले हरेक स्थानमा दुई दिन निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको थियो । शिविरमा गाइनोकोलोजिस्ट, पेडियाट्रिक, जनरल फिजिसियन, दन्त रोग, हाडजोर्नी, ग्यास्ट्रोलोजीलगायत रोगको निःशुल्क उपचार र औषधि वितरण गरिएको   समाजका अध्यक्ष डा. प्रमोद राईले बताए ।


शिविरमा ४५ जना विशेषज्ञ चिकित्सकसहित एक सय ३० जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । शिविर सञ्चालनमा तीन करोड दश लाख रुपैयाँ खर्च भएको उनको भनाइ छ ।

जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालित वृहत स्वास्थ्य शिविरको  उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले यही चैत १४ गते उद्घाटन गरेका थिए ।