खोटाङको महुरे-फोक्सिङटार सडक कालोपत्रको काम अलपत्र



खोटाङ । दिक्तेल बजारलाई पूर्वी तराईसँग जोड्ने सगरमाथा राष्ट्रिय राजमार्ग अन्तर्गत महुरेफोक्सिङटार सडक कालोपत्रको काम अलपत्र परेको छ ।

दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार (४८ किलोमिटर) सडकखण्ड दुई भागमा विभाजन गरी ठेक्का लगाएर कालोपत्र थालिएको थियो ।


महुरेदेखि राजापानीसम्मको २२ किमि सडक कालोपत्रको काम भारत कन्ट्रक्सनरसिद्धी शाही जेभीले ठेक्का लिएको थियो । सिम्पानीभञ्ज्याङदेखि फोक्सिङटारसम्मको २६ किमी सडकखण्ड कालोपत्रको काम देवनारायण पवन–मैनाचुली–खाम्पाचे जेभीले जिम्मा लिएको थियो । कालोपत्रको काम सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरिसक्नुपर्ने दुवै सडकखण्ड अलपत्र पारिएको हो ।

भारत कन्ट्रक्सन–सिद्धी शाही जेभीले विसं २०७७ असार २९ गते सम्पन्न गर्ने गरी विसं २०७३ असार ३० गते ठेक्का सम्झौता गरेको थियो । सम्झौता मिति सकिएको लामो समय बितिसक्दासमेत सडक कालोपत्र हुन सकेको छैन । भ्याटबाहे ४१ करोड ५० लाख रुपैयाँको लागतमा ठेक्का लिएको ठेकेदार कम्पनीले हालसम्म ३५ प्रतिशतमात्र भौतिक प्रगति गरेको छ ।

सिम्पानीभञ्ज्याङ–फोक्सिङटार सडकखण्डको काम ५९ प्रतिशत भौतिक प्रगति भएको सडक विभागले जनाएको छ । भ्याटबाहेक ५५ करोड ८७ लाख रुपैयाँमा विसं २०७७ साउन १० गतेभित्र कालोपत्र पूरा गर्ने गरी विसं २०७३ साउन ११ गते सो खण्डको ठेक्का सम्झौता भएको थियो ।

सुरुदेखि ढिलासुस्ती गर्दै आएको निर्माण कम्पनीले पछिल्लो समय थपिएको अवधिमा काम नगरेको स्थानीयबासीको भनाइ छ । महुरे–सिम्पानी खण्डमा गुणस्तरहीन काम भएको भन्दै स्थानीय मिलन राईको नेतृत्वमा गाउँले मिलेर विसं २०७६ पुस २३ गते करिब ३० मिटर ड्रेन भत्काएका थिए । काममा चरम ढिलासुस्ती, गुणस्तरहीन र कामदारले पारिश्रमिक नपाएको विरोधमा स्थानीयबासीले विसं २०७६ पुसमा विरोध गरी काम ठप्प पारेका थिए ।

ठेकेदार कम्पनीले महुरे–फोक्सिङटार सडकखण्डका होटल व्यवसायी तथा खुद्रा पसलका व्यापारीको लाखौँ रकम तिर्न बाँकी रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका वडाध्यक्ष दिनेश राईले जानकारी दिए  ।

कालोपत्रको काम अलपत्र पार्ने ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता तोडेर नयाँ पक्रिया अगाडि बढाउन नेपाल सरकार, संघीय अर्थमन्त्रालयमा बजेट माग गरिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इञ्जिनियर सञ्जय मिश्रले बताएका छन् ।

‘नयाँ पक्रियाका लागि अहिलेसम्म अर्थमन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन । यस वर्षका लागि मर्मत गर्ने बजेट पनि हामीसँग छैन,’ उनले भने, ‘अर्थमन्त्रालयबाट नयाँ बजेटको व्यवस्था नभएसम्म कुनै काम अगाडि बढाउन सकिँदैन । नयाँ बजेट व्यवस्था गर्ने प्रयास भइरहेको छ ।’

सम्झौता थपिएको मिति सकिएपछि दुवै सडकखण्डमा प्रयोग भएका उपकरण र औजार लिएर निर्माण व्यवसायीले निर्माणस्थल छाडेका थिए । बजेट उपलब्ध भएको समयमा ठेकेदार कम्पनीले काम नगरेपछि पुनःबजेटको सुनिश्चितता गर्न समस्या भएको प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले बताए ।

करिब एक सय ३४ किमी लामो दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत गाईघाटबाट खोटाङको महुरेसम्म (१०१ किमी) सडक कालोपत्र गर्न सडक विभागले सात वर्षअघि दुई अर्ब ६८ करोड रुपैयाँ बजेट बजेट विनियोजन गरेको थियो ।

फोक्सिङटारस्थित सुनकोसी नदीमा मोटरेबल पुल निर्माण भएपनि सडक कालोपत्र नहुँदा वर्षमा ६ महिनासम्म यातायात अवरुद्ध हुने गरेको छ ।